रिबन

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौँ ।कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ।

तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिएको छ।

गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ। अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ। युरोप र मध्यपूर्वमा पनि कम देखिएको सङ्गठनले जनाएको छ।

पश्चिमी प्रशान्त र दक्षिण पूर्वी एसियामा भने मृतकको सङ्ख्यामा वृद्धि भएको छ। ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको सङ्ख्यामा वृद्धि भएको देखिएको हो।

विश्वभर अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपनाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन्।

उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सङ्क्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन्। कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *