रिबन

परमाणु सम्झौतामा इरानले किन राख्यो क्षतिपूर्तिको शर्त ?

काठमाडौँ । इरानको विशेष माग इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने बाटोमा बाधक बनेको छ । अमेरिकाले भविष्यमा यो सम्झौताबाट पछि हटेको खण्डमा इरानलाई क्षतिपूर्ति दिइने प्रावधान सम्झौतामा समावेश गर्न इरानको माग छ । आणविक सम्झौता पूरा गर्ने उद्देश्यले पुनः सुरु भएको वार्तासँग सम्बन्धित कूटनीतिज्ञहरूले यस्तो बताएका छन् ।

इरानलाई आणविक बम बनाउनबाट रोक्न सन् २०१५ मा सम्झौता भएको थियो । त्यसपछि बराक ओबामा अमेरिकाको राष्ट्रपति थिए । तर जब डोनाल्ड ट्रम्प राष्ट्रपति बने, २०१८ मा, उनले अमेरिकालाई सम्झौताबाट फिर्ता लिए । सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि अमेरिकाले उक्त सम्झौतालाई फेरि कार्यान्वयन गर्ने प्रयास सुरु गरेको थियो । यसका लागि भियनामा भएको वार्तामा अधिकांश विषयमा सहमति भएको बताइएको छ । तर यसबीचमा मुआब्जाको मुद्दा उठेको छ ।

सीएनएनका अनुसार युरोपेली संघका अधिकारीहरूले गत हप्ता परमाणु सम्झौताको अन्तिम मस्यौदा अमेरिका र इरानलाई हस्ताक्षरका लागि पठाएका थिए । अर्कोतर्फ इरानका तर्फबाट वार्तामा संलग्न दलका प्रमुख सल्लाहकारले पनि सहमति नजिक पुगेको ट्विटमार्फत पुष्टि गरेका छन् । तर वार्तामा संलग्न एक कूटनीतिज्ञले इरान भावी अमेरिकी राष्ट्रपतिको अडानबाट चिन्तित रहेको बताएका छन् ।

उनले भने- ‘दुवै पक्षको विचारमा नजिकिँदै जाँदा प्रगति भएको देखिन्छ। सम्झौताको संकेत देखाउने मुद्दाहरूमध्ये विदेशमा व्यापार गर्ने इरानी कम्पनीहरूमाथि प्रतिबन्धको मुद्दा पनि छ । अब बाँकी रहेको मुख्य मुद्दा इरानले भविष्यमा कुनै अमेरिकी प्रशासनले सम्झौताबाट बाहिरिने निर्णय गरेमा इरानले त्यसको क्षतिपूर्ति पाउनेछ भन्ने ग्यारेन्टी खोजिरहेको छ ।’
क्षतिपूर्तिको मागलाई इरानी वार्ता टोलीका सल्लाहकार मोहम्मद मरान्डीले पनि पुष्टि गरेका छन् । उनले भने- ‘भविष्यमा कुनै अमेरिकी प्रशासनले फेरि सम्झौताबाट पछि हटेको खण्डमा अमेरिकाले मूल्य चुकाउनु पर्ने ग्यारेन्टी हुनुपर्छ ।’

मरान्डीले अन्य दुई मुद्दामा पनि मतभेद कायम रहेको बताए । तर उनले यी विषयहरू उल्लेख गर्न भने अस्वीकार गरे ।

कतार र युरोपेली युनियन (इयु)को मध्यस्थतामा हाल अमेरिका र इरानबीच परमाणु सम्झौताको वार्ता चलिरहेको छ । कतारका विदेशमन्त्रीले गत साता तेहरानको भ्रमण गरेका थिए । यहाँ उनले इरानका वार्ताकार अली बगेरी कानीसँग वार्ता गरेका थिए । ईयूकी प्रवक्ता नबिला मसरालीले सम्झौता टुङ्ग्याउन ईयू अमेरिका र सम्बन्धित पक्षसँग सम्पर्कमा रहेको बताइन् ।

यसैबीच, अमेरिकाले इरानलाई परमाणु सम्झौतासँग प्रत्यक्ष रूपमा सम्बन्धित नभएका मागहरू त्याग्न आग्रह गरेको छ । इरानको विशेष बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्समाथि लगाइएको प्रतिबन्ध हटाउने इरानको मागसँग अमेरिका पनि सहमत नभएको बताइएको छ । अमेरिकाले यो बललाई विदेशी आतंकवादी संगठनको सूचीमा राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *