काठमाडौँ । चीन सरकारले आफ्नो देशका परिवारलाई सकेसम्म धेरै बच्चा जन्माउन अपिल गरिरहेको छ ।
सरकारले धेरै सन्तान जन्माउने दम्पतीलाई विभिन्न किसिमका सरकारी सुविधा दिने घोषणा गरेको छ । देशको जनसंख्या घट्दै गएको भन्दै अधिकारीहरूले दिएको चेतावनीपछि सरकारले यो कदम चालेको हो । चिनियाँ अधिकारीहरुका अनुसार जनसंख्या लगातार घट्दै गएको छ र सन् २०२५ देखि यो अझै घट्ने देखिन्छ । चीन त्यो देश हो जसको जनसंख्याले विश्वलाई चिन्तित बनाएको थियो ।
बढ्दो जनसङ्ख्यालाई रोक्न सरकारले सन् १९७० को दशकमा एक बच्चा नीति घोषणा गरेको थियो । तर सन् २०१६ मा खारेज भयो । चीन अहिले एक संकटबाट गुज्रिरहेको छ, जसमा मानिसको संख्या लगातार घटिरहेको छ । कलकारखाना र अन्य ठाउँमा वृद्धवृद्धाको संख्या बढ्दै गएको छ । सुस्त अर्थतन्त्र र कमजोर जनसंख्याले देशको चिन्ता बढाएको छ । एक सन्तान नीतिको अन्त्य भएपछि चिनियाँ सरकारले जनतालाई तीन सन्तान जन्माउने स्वतन्त्रता दिएको थियो । पछिल्लो पाँच वर्षयता जन्मदरमा तीव्र गिरावट आएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केन्द्र र राज्य सरकारहरूलाई आमाको स्वास्थ्यमा खर्च बढाउन र देशभर बाल हेरचाह सेवाहरू सुधार गर्न अपील गरेको छ । सरकारले अनुदान, कर छुट र राम्रो स्वास्थ्य बीमा जस्ता वाचासहित विभिन्न सुविधा घोषणा गरेको छ । यसका साथै युवा परिवारलाई शिक्षा, घर र रोजगारीमा सहयोग गर्ने प्रतिबद्धता पनि गरिएको छ । सबै प्रान्तहरूले यस वर्षको अन्त्यसम्ममा २ देखि ३ वर्षका बालबालिकाका लागि पर्याप्त नर्सरीहरू सुनिश्चित गर्न निर्देशन पनि दिएको छ ।




