कला/साहित्य

सम्झनामा चैनपुर

कुनै सुन्दरी हौ कि वा बन्धकी हौ ?
तिमी किन्नरी हौ कि वा जिन्दगी हौ ?
सिँढी सम्झनामा भएछौ निवास
बलेँसी सहेंलीहरूको मिठास ।१।

सुसाएर बग्दैछ दोभान माया
हिँवा छङ्छङाएर हुन्नन् बिराना ।
जवानी किनारा सितारा उतारी
चुमेझैं छ गालो अँगालो अँगाली ।२।

छिमेकी छटा लेक बेंसी फराक
बुटेदार लोटा कला हो कि प्यास ?
सुसंस्कार थुप्रै थरी जात केली
सभा सङ्खुवाको निराला पधेँरी ।३।

उचा रङ्गशाला तरेली हियार
गुफा पोखरी नग्न डाँडा पियार ।
अलङ्कार घाँटीसँगै सर्पराज
महादेव शम्भो भयौझैं विराज ।४।

बसी बास छेउ बढून् सिद्ध सिद्धी
खुसी चैत्यमार्गी कमाऊन् प्रसिद्धि।
पुरी चौगुना झाँगियोस् भै पियारो
दियो पूर्वको ज्योति होस् मोक्षदा यो ! ।५।

नदी बेगिएछन् कुँदी नागवेली
झरी घाम झुल्को पगाले मकालु ।
वनै राजधानी गलामा गुराँस
चमेली र चम्पावती सन्निवेश ।६।

छ अध्यात्म आस्था दिमागी लगाम
सधैँ गर्व लाग्दो कुलाचार ठाम ।
सबै नम्र मान्छे भला भाल हुन् कि ?
नभै वक्र कोही करालो नहून् ती ! ।७।

गढी केन्द्र गौंडो थुमैको कथा छ
अगौटेहरूको नियाँ वीरता छ ।
सुसम्पन्न चौडा उज्यालो छ घेरो
पुरी चैन आनन्द माधुर्यको यो ।८।
०………………०………………….०

पदम दाहाल

मादी न‍‍‌‍.पा. ६, स‌ंखुवासभा

हाल: लाेकन्थली,भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *