काठमाडौं। चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले वीर अस्पतालका उपकुलपति देवनारायण साहलाई भेटेर भक्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन । दुवाकोटमा प्रस्ताव गरिएको वीर अस्पतालको निर्माण कार्य अघि नबढेपछि नगर प्रमुख खत्रीले उपकुलपतिको कार्यकक्षमै पुगेर अविलम्ब निर्माण कार्य अघि बढाउन आग्रह गरेका हुन ।
भवन निर्माण कार्य चाडो सम्पन्न गरेर दुवाकोटबाट गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न मेयर खत्रीले उपकुलपाति साहलाई आग्रह गरेका छन । नेपाली कांग्रेसका नेता समेत रहेका मेयर खत्रीले अस्पताल निर्माण गर्ने क्रममा नगरपालिकाको तर्फबाट अस्पताल प्रशासनलाई जस्तोसुकै सहयोग गर्न तयार गर्न रहेको बताए । वीर अस्पताल निर्माण कार्यमा सहजिकरणका साथै सुखद् परिणाम निकाल्नका लागि चाँगुनारायण नगर कार्यसमिति बैठकले नगर प्रमुख खत्रीको संयोजकत्वमा पाँच सदस्य समिति समेत गठन गरेर अघि बढको छ ।

यस अघि कागजी अस्पतालमा मात्र सीमित रहेको दुवाकोटमा प्रस्तावित वीर अस्पताल अहिले नेपाल सरकारको चासो र प्राथमिकतामा परेको छ । वीर अस्पतालको १३३ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले वीर अस्पताल निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिए । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्री भवनी खाँपुङलाई दुवाकोटमा रहेको वीर अस्पतालमा प्रयाप्त बजेट छुट्टियाउन र जनशक्ति थप्न सार्वजनिक मञ्चबाटै निर्देशन दिएका थिए ।
सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा वीर अस्पताललाई विस्तार गरेर उपत्यकाभित्र अर्को १००० शय्याको सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरेको थियो । चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले यसको गुरुयोजना भने त्यसअघि नै तयार गरिसकेको थियो ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै चाँगुनारायण नगरपालिकाको अग्रसरतामा वीर अस्पतालका नाममा ५७० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।




