काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमण सकेर स्वदेश फर्किएकी छन्।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।
भ्रमण नगर्न चीनले कडा शब्दमा चेतावनी दिएको भएपनि न्यान्सीको ताइवान भ्रमणपछि चीनले भने कडा प्रतिक्रिया दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने चेतावनी दिदै चीनको अपमान गर्नेहरूले सजाय भोग्ने बताएका छन् ।
पलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन् । त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ ।
चीनको रक्षा मन्त्रालयका एक प्रवक्ताले अभ्यासका क्रममा ताइवानको जलक्षेत्रमा प्रवेश गर्न सकिने बताएका छन् । यसअघि चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धविमानहरू उडाएको थियो ।




