काठमाडौँ । चीनको विरोधका बाबजुद अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार ताइवानको राजधानी ताइपेई पुगेकी छन् । २५ वर्षमा अमेरिकी वक्ता ताइवानको भ्रमणमा गएको यो पहिलो पटक हो । यसअघि सन् १९९७ मा तत्कालीन सभामुख न्युट गिङरिच यहाँ आएका थिए ।
पेलोसीको भ्रमणबाट स्तब्ध भएको चीनले ताइवान र अमेरिकालाई डराउने हर प्रयास गरिरहेको छ । पेलोसीको ताइवान भ्रमणपछि चीनले अहिलेसम्म के के गर्यो ?
साइबर आक्रमणबाट विमानस्थल उडाउने धम्की
पेलोसीको भ्रमण अघि नै ताइवानभर साइबर आक्रमणको खबर आएको थियो । राष्ट्रपतिको वेबसाइट समेत ह्याक भएको चर्चा थियो । ताइपेई एयरपोर्टमा बमको धम्की दिइएको थियो । चीनको लडाकु विमान ताइवानको सीमानामा उडिरहेको देखिएको थियो । चिनियाँ नौसेनाले ताइवान वरपर युद्धपोतहरू तैनाथ गरेर युद्ध अभ्यास समेत गरेर पेलोसीको भ्रमण रोक्ने प्रयास गरेको थियो ।
ताइवानमाथि आर्थिक प्रतिबन्ध
आक्रोशित चीनले ताइवानमाथि आर्थिक प्रतिबन्ध लगाउन थालेको छ । चीन सरकारले ताइवानलाई प्राकृतिक बालुवा आपूर्तिमा प्रतिबन्ध लगाएको छ । यसले ताइवानलाई धेरै नोक्सान पुर्याउन सक्छ । कोरोना महामारीपछि निर्माण र पूर्वाधार विकास ताइवानको आम्दानीको स्रोत बनेको छ । यस्तो अवस्थामा बालुवा निकासी रोक्दा ताइवानले आर्थिक नोक्सान बेहोर्नु पर्नेछ । जुलाई १ मा चीनले ताइवानबाट १०० भन्दा बढी खाद्यान्न आपूर्तिकर्ताहरूबाट आयातमा प्रतिबन्ध लगाएको थियो ।
अमेरिकी राजदुतलाई बोलायो
सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएको छ । चिनियाँ उप–विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए ।

पेलोसी र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता
पेलोसी मलेसियाबाट मंगलबार राति करिब ८: ४० मा ताइवान आइपुगेकी हुन् । उनलाई विमानस्थलमा ताइवानका राष्ट्रपति साई इङ वेनले स्वागत गरेकी थिइन । बुधवार, पेलोसीलाई ताइवानको संसदमा विशेष ग्रान्ड कार्डन, ताइवानको सर्वोच्च नागरिक सम्मान, अर्डर अफ प्रोपियस क्लाउड्सबाट सम्मानित गरियो ।
यसै क्रममा पेलोसीले ताइवानको मित्रतामा गर्व गरेको बताइन् । अमेरिकाले ताइवानलाई हरेक तहमा सहयोग गर्ने बाचा पनि उनले गरेकी छन् । पेलोसीले अमेरिकाले ताइवानको लोकतन्त्रलाई समर्थन गरिरहने बताइन् । ताइवानका २३ मिलियन नागरिकहरूसँग अमेरिकाको ऐक्यबद्धता आज पहिलेभन्दा धेरै महत्त्वपूर्ण रहेको बताउदै विश्वले निरंकुशता र लोकतन्त्र बीचको छनौटको सामना गरिरहेको बताइन् ।
चीनले के भन्यो ?
पेलोसी ताइवान पुगेपछि चीनले ताइवान र अमेरिकालाई धम्की दिएको छ । चीनले भन्यो- ‘हामी यो भ्रमणको विरोध गर्छौं र यसको कडा निन्दा गर्छौं । यो आगोसँग खेल्ने धेरै खतरनाक कार्य हो । जसले आगोसँग खेल्छ उसले आफैलाई जलाउँछ ।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने- ‘हामीले भ्रमणको प्रतिक्रियास्वरूप हाम्रो क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछौं । अमेरिका र ताइवानको स्वतन्त्रता समर्थक र पृथकतावादी शक्तिहरू यसका सबै परिणामहरूको लागि जिम्मेवार हुनेछन् । ताइवानको सवालमा चीनको जनता र सरकारको अडान सधैं स्पष्ट रहेको छ ।’
चुनिङ यहीँ रोकिएनन् । उनले अगाडी भने- ‘चीनले अमेरिकालाई ताइवान कार्ड खेल्न बन्द गर्न र चीनलाई रोक्न ताइवानको प्रयोग बन्द गर्न आग्रह गर्दछ । अमेरिकाले ताइवानको स्वतन्त्रता खोज्ने पृथकतावादी शक्तिहरूलाई षड्यन्त्र र सहयोग गर्न बन्द गर्नुपर्छ । संयुक्त राज्य अमेरिकाले एक चीन नीति र तीन साझा संयुक्त राज्य अमेरिका-चीन वार्तालाई कडाईका साथ पालना गर्नुपर्छ र यो गलत र खतरनाक बाटोमा अगाडि बढ्नु हुँदैन ।’
चीनले लक्षित सैन्य कारबाही गर्ने धम्की पनि दिएको छ । तर, कुन निशानामा चीनले सैन्य कारबाही गर्ने धम्की दिएको छ भन्ने स्पष्ट भएको छैन ।




