रोएर बाँच्ने छ यहाँ फलाको
दोहेर साँच्ने खिचलो बडाको ।
अपूर्ण भो राज्य छ यो सबाल
सङ्घीयता भैकनको बिहाल ।१।
विकासका सोर जताततै छन्
उराठ बस्ती जनता तितै छन् ।
नेतृत्वशाली जनको रजाइँ
मोटाउने नायकको लडाइँ ।२।
निःस्वार्थ को हुन् ? जब स्वार्थमा छन्
जातित्व वैरत्व अनर्थमा झन् ।
नजानिँदो राल चुहुन्छ तप्प
बन्देज आग्ला बलिया गजक्क ।३।
जो चाकडीबाज हराभरा ऊ
शालीन जो सक्षम खुम्चिने ऊ ।
जोडेर घाँटी लहराउँदैछ
निरीह नाराज उँधो हुँदैछ ।४।
विपन्नमा ढाडस छैन आस
दशौँ गुना मोल उचालिंदैछ
ताली बजाओ थपडी लगाओ
लाजै नलाग्ने असरल्लता यो ! ।५।
० ………….. ० …………….. ०
पदम दाहाल
मादी न.पा.– ६, सङ्खुवासभा,हालःलोकन्थली, भक्तपुर




