काठमाडौं। हिन्दु धर्मवालम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिषरमा रुद्राक्षका विरुवा रोपण कार्यको शुभारम्भ गरिएको छ । संखुवासभाको खाँदबारी नगरपालिका, काठमाडांै महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त सहकार्यमा पशुपति क्षेत्रभित्र रूद्राक्षका विरुवा रोपण कार्यको शुभारम्भ गरिएको हो ।
पशुपति क्षेत्रमा रुद्राक्ष रोपण कार्यक्रमको पशुपति विकास कोषका अध्यक्ष तथा संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सुभारम्भ गरिएको थियो । रुद्राक्ष रोपण कार्यक्रमको शुभारम्भमा नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह,खाँदवारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया र सरोकारवाल पक्षको उपस्थिति थियो ।
बृक्षारोपण कार्यक्रमको शुभारम्भमा खाँदबारी नगरपालिकाको तर्फबाट एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने नगर प्रमुख महेश थपलियाले प्रतिवद्धता जनाएका छन । आजै मेयर थपलियाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई करिव पाँच सय रुद्राक्षका विरुवा हस्तान्तरण गरेका छन । थपलियाले हस्तान्तरण गरेका रुद्राक्षका विरुवा बालेन्द्रले पशुपति विकास कोषका अध्यक्ष तथा पर्यटनमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका छन । खाँदवारी नगरपालिकाले आवस्यकता अनुसार निरन्तर रुद्राक्षका विरुवा उपलब्ध गराउदै जाने मेयर थपलियाले जानकारी दिएका छन । रुद्राक्ष रोपण कार्यक्रमको शुभारम्भमा मन्त्री श्रेष्ठ र काठमाडौंका मेयर बालेन्द्रले थपलियालाई धन्यवाद ज्ञापन गरेका थिए ।
उपत्यकाकै प्राचिन विश्व सम्पदा क्षेत्रमा सूचिकृत पशुपतिनाथ मन्दिर क्षेत्रमा भगवन शिवले रुचाएको बृक्ष रुद्राक्षका एक लाख विरुवा उपलब्ध गराउने मेयर थपलियाको प्रतिवद्धतालाई सकारात्म रुपमा लिइएको छ ।
रुद्र + आक्ष मिलेर बनेको रुद्राक्ष शब्दसग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम तथा आक्षको अर्थ आसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ ।
रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै धार्मिक एवं शारीरिक लाभ हुने विश्वास छ ।
रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो ।




