काठमाडौँ । दिनेश गुणवर्द्धने संकटग्रस्त श्रीलंकाको नयाँ प्रधानमन्त्री हुने भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले दिनेश गुणवर्द्धनेलाई आगामी प्रधानमन्त्री नियुक्त गर्न लागेका छन् ।
यसअघि महिन्दा राजापाक्षे देशका प्रधानमन्त्री थिए तर श्रीलंकामा ठूलो जनविरोध भएपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो । हाल उनी अज्ञात ठाउँमा बस्दै आएका छन् ।
गोटाबाया राजापाक्षे देशबाट भागेर राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । उनी पछि संसदबाट राष्ट्रपति निर्वाचित भएका छन् । उनी देशको संविधान अनुसार संसदबाट निर्वाचित हुने पहिलो श्रीलंकाका राष्ट्रपति हुन् । उनीभन्दा अगाडि तत्कालीन राष्ट्रपति प्रेमदासको निधनपछि सन् १९९३ मेमा स्वर्गीय डिबी विजेतुङ्गा निर्विरोध निर्वाचित भएका थिए ।
२२५ सदस्यीय श्रीलंकाको संसदले जुलाई २० मा विक्रमासिङ्घेलाई नयाँ राष्ट्रपति चयन गरेको थियो। उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दलका नेता दुल्लास अल्हप्परुमाले ८२ मत पाएका थिए । त्रिकोणात्मक प्रतिस्पर्धामा वामपन्थी जनता विमुक्ति पेरामुनाकी नेतृ अनुरा कुमारा दिसानायकेले मात्र तीन मत पाएकी थिइन् ।
विक्रमासिङ्घेको सबैभन्दा ठूलो चुनौती श्रीलंकालाई आर्थिक संकटबाट बाहिर निकाल्नु र महिनौंदेखि चलेको चर्को विरोधपछि कानून र व्यवस्थालाई पुनर्स्थापित गर्नु हो । डेली मिरर अखबारका अनुसार राष्ट्रपति विक्रमासिङ्घेले आगामी केही दिनमा २०–२५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
विक्रमासिंघे देशको ६ पटक प्रधानमन्त्री भइसकेका छन् । तर उनी राष्ट्रपति बनेको भने यो पहिलो पटक हो । गत आमनिर्वाचनमा उनको पार्टीले संसदमा एउटा मात्र सिट जितेको थियो । यति हुँदाहुँदै पनि सरकार विरोधी आन्दोलनको बढ्दो दबाबबीच गोटाबाया राजापाक्षेले उनलाई गत मे ६ मा प्रधानमन्त्री नियुक्त गरेका थिए ।
विक्रमासिंघे प्रधानमन्त्री हुँदा आर्थिक संकट समाधानका लागि ठोस पहल गर्न नसकेको आम धारणाका बीच उनी देशको राष्ट्रपति बनेका छन् ।




