रिबन

मार्वग भाइरस के हो ? यसबाट कसरी बच्ने ?

काठमाडौं । हालै मात्र मार्वग भाइरसको कारण घानामा दुई जनाको ज्यान गएको छ भने महामारी फैलिने डरले आशंकित ९८ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ ।

तीव्र गतिमा सर्ने यस रोगको कारण ज्वरो आउने, मांशपेसी दुख्ने र बान्ता हुने गर्दछ । कुनै कुनै बेला एक्कासी शरीरमा रगतको चरम अभावका कारण बिरामीको मृत्यु नै हुन्छ । विगतमा यस भाइरसको कारण सयौं मानिसको मृत्यु भइसकेको छ । विशेष गरी अफ्रिकामा ।

यो इबोला भाइरस समूहमा पर्छ । पहिलो पटक सन् १९६७ मा यस भाइरसको पहिचान हुँदा संक्रमित ३१ मध्ये ७ जनाको ज्यान गएको थियो । मार्वग पहिलोचोटि अफ्रिकामा हरिया बाँदरले ल्याएका थिए । युगान्डाबाट आएका हरिया बाँदरहरूमा यसको महामारी फेला परेको थियो । त्यसयता यो भाइरस अन्य जनावरहरूसँग पनि जोडिएको छ ।

मानिसमा भने चमेरो बस्ने गुफा तथा खानीका सुरुङमा लामो समय बसेका मानिसहरूबाट सरेको हुनुर्ने अनुमान गरिएको छ । यसअघि मर्वग प्रजातान्त्रिक गणतन्त्र कंगो, केन्या, दक्षिण अफ्रिका, युगान्डा, र जिम्वावेमा पनि भेटिएको थियो ।

सन् २००५ मा अंगोलामा यो महामरीको रूपमा फैलिँदा तीन सय जना भन्दा बढी मानिसको ज्यान गएको थियो । तर, विगत ४० वर्ष लामो अवधिमा अमेरिका र युरोपमा क्रमशः एक/एक जनाको मात्र ज्यान गएको छ । सुरुमा बिरामीमा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने र मांशपेसीमा पीडा हुने जस्ता लक्षण देखिन्छन् । तीन दिनपछि पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यसबाट संक्रमित बिरामीको आँखा भित्रसम्म गडेका हुन्छन् । अनुहारमा कुनै भाव नै हुँदैन । अत्यन्तै थकित देखिन्छन् । संक्रमण भएको आठदेखि नौ दिनसम्ममा शरीरका विभिन्न अंगहरूबाट रक्तश्राव हुन थाल्छ । अत्यधिक रक्तश्रावका कारण बिरामीको मृत्यु समेत हुन सक्छ ।

डब्ल्यूएचओका अनुसार यसको लागि कुनै औषधि र खोप बनिसकेका छैनन्, तर रोग प्रतिरोधात्मक थेरापी, औषधि तथा रक्तजन्य उत्पादनको विकास गरिँदैछ ।

लामो समयपछि पनि रगत र वीर्यमार्फत यो भाइरस सर्न सक्छ । खोप निर्माण कार्यमा जुटिरहेको अन्तर्राष्ट्रिय संगठन ‘गाभी’ ले अफ्रिकामा रहेका मानिसलाई झाङमा बस्ने जनावरका मासु नखान सचेत गराएको छ ।

संक्रमित भइसकेका पुरुषहरूलाई दुई पटकसम्म वीर्य परीक्षणमा भाइरस नेगेटिभ नदेखिएसम्म वा एक वर्षसम्म कन्डम प्रयोग गर्ने सल्लाह दिइएको छ । यसको कारण मर्नेको शव पनि नछुन सल्लाह दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *