उचालियोस् बगैँचा यो फुलून् पहाड टाकुरा
नछेलियून् दुवै आँखा खुलून् धीत मनोहर ।१।
पग्ल्योस् हिमाल हाँसेर ओर्लून् घाम निधारमा
तराई तिर्सना बोकून् मेटून् भोक सँघारमा ।२।
बिसाऊन् भरिया भारी उचालून् नव्य जाँगर
निलो आकाश पौडेकी धरणी धाम सुन्दर ।३।
समुन्द्र क्षार उर्लेर उठून् छाल छलाङ रे !
जोड बादल सोरेर आँसु प्यास पखाल रे ! ।४।
नरोऊन् धर्तीमा कोही रमाऊन् गुलजारमा
सृष्टिका सिर्जना फक्रून् बर्सिऊन् काव्य द्वारमा ।५।
मुखापेक्षी नहौ कोही कैलाश गिरि मुन्तिर
तपस्या नहऊन् भङ्ग ऋषि रोस्टमको घर ।६।
जोड भञ्ज्याङ इन्द्रेणी बज्रपाणि झरून् तल
नहोस् जुनी चखेवाको जुनेली रात चर्चर ।७।
बुद्घको बाग चौतारी शान्ति विश्र्राम ल्याउने
तीर्थ मन्दिर गुम्बा हुन् आस्था आस बिसाउने ।८।
सधैंँ यात्रा सबै दृश्य काव्य हो र अकिञ्चन ?
मात्रा अक्षरका बान्की बोक भाव निरञ्जन ।९।
०……………….०…….………….०
मादी न.पा.– ६,सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर




