प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी सञ्चार माध्यमले शुक्रबार दाबी गरेका छन् ।
उत्तर कोरियाली जनतालाई दक्षिण कोरियाबाट सीमावारी उडेर आएका वस्तुहरूप्रति होशियारपूर्वक निगरानी राख्न आग्रह गरिएको थियो । वर्षौदेखि दक्षिण कोरियामा रहेका अभियन्ताहरूले उत्तरतर्फ पर्चाहरू, र मानवीय एवं उद्धार सामाग्रीहरू बेलुनसँग उडाएर पठाउने गरेका छन् ।
उत्तरको भनाइ खण्डन गर्दै दक्षिण कोरियाले कोभिड १९ त्यसरी सर्न सक्ने संभावना नरहेको जनाएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार एक औपचारिक अनुसन्धानबाट दक्षिण कोरियाको सीमाना नजिक भेटिएका अज्ञात वस्तुहरूको सम्पर्कमा आएका दुई जना व्यक्तिमा सुरुमा कोभिड १९ संक्रमण भएको हो ।
यसरी इफो-री को एउटा पहाडमा त्यस्ता वस्तु छोएपछि अप्रिलको सुरुमा एक जना १८ वर्षीय सैनिक र ५ वर्षीय बालकलाई भाइरस संक्रमण भएको थियो । तत्कालै यस्ता संदिग्ध अज्ञात वस्तुलाई महामारीविरुद्धको आपत्कालीन टोलीबाट हटाउन लगाउन यस्ता वस्तु देख्नासाथ तुरुन्तै सम्बन्धित निकायलाई खबर गर्न सबैलाई अनुरोध गरिएको छ ।




