सूक्ष्मातिसूक्ष्म निराकार मन छ
उसको गतिशीलतामा
कुनै अन्तर्यामीको कमान छ
कसैलाई फुस्ल्याउन
एउटा चित्तचोर विराजमान छ
दत्तचित्त साथ ढुकिरहेछन्
बुद्घिगम्य विवेकशील द्वारपालहरू
उनैद्वारा मेरो अन्तस्करण खैँचिएको भान छ
चलिरहेछ हारजित पटाङ्गिनीमा
दौडाइरहेछ मलाई कुनै रेफ्रीले
दौडिरहेछ तन
वक्षस्थल भित्रै तानातान छ ।
०…………….०…………….०
कहिले ढल्छु कसैले उठाउँछ
कहिले जल्छु कसैले फकाउँछ
सावधान छु हरेकको निगरानीमा
किनकि मैभित्र एउटा चक्रधारी मन छ
दौडेर पौडेर पुग्दैन उसलाई
त्यसैले पाइलट बनेर उडाइ रहन्छ मलाई
सतर्कताको चस्मा भिराइरहन्छ
कुतर्कमा ईर्ष्यामा झकझक्याइ रहन्छ
उचालेर खुलदुली
स्वाभिमानको अहं प्रश्न उब्जाइरहन्छ ।
०…………………०………………….०
दूरबिन हालेर मेरो आँखामा
दृश्य परिदृश्य पिलाउँछ
फराकिलो मानिएको छाती भित्र
अजम्मरी ठानिएको अतृप्त मन छ
अन्तरिक्ष भरिको यात्रा बोकेर
कहिले पखेटा फिंजाएर पौडिन्छ
उज्यालो फटाउने नाउँमा
हुलेर अन्तर्ध्यान
मभित्रको यौटा मान्छे बौरिन्छ ।
०……………..०.……………०
दुस्मनको लहडबाजीले
मनभित्रको देश दुखिरहन्छ
बनाउँदै जहरबगर छरिरहन्छ
निर्जीवनको मान्छे रित्तिन्छ
तर अजरामर देश सधैँ बाँचिरहन्छ
बिछ्याउला कोही सीमातीत
मन गडन्ते आकाङ्क्षाहरू
तर बगाउदैन खहरेले धरोहर
ढुकढुकीमा रहन्छ
निसाना नक्सासँगै राष्ट्रको चित्रकाव्य ।
०………………….०…….……….०
मादी न.पा.– ६,सङ्खुवासभा
हालःलोकन्थली, भक्तपुर




