काठमाडौँ । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ । त्यस्तै भूकम्पबाट ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।
यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या अझै २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताएको छ ।
घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए । जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो ।
बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको छ ।




