काठमाडौं । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजय भाेगेकाे छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति कुवेतमा भएको खेलमा घरेलु टिमले ४-१ गोलले पराजित गर्यो।
शनिबार नेपालविरूद्ध घरेलु टिम कुवेतका योसेफ नासेरले दुई गोल गरे। दुवै गोल दोस्रो हाफमा गर्ने क्रममा उनले ४८ र ७० मिनेटमा गोल गरेका थिए।
त्यसअघि खेलको २८ मिनेटमा फहाद अल रासिदीले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। कुवेतका लागि चौथो गोल अल फनेहीले ७३ मिनेटमा गरेका थिए।
दोस्रो हाफमा नेपालका कप्तान नवयुग श्रेष्ठको प्रहार बारमा लाग्दा नेपाल गोल गर्न चुकेको थियो। यद्यपी नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ।
यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ।
अब नेपालले समूहको अन्तिम खेलमा इन्डोनेसियासँग आगामी मंगलबार राति प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोट हुनेछ।
प्रशिक्षक अल्मुताइरीको अवस्था सामान्य
नेपाल र कुवेतबीच खेल चलिरहँदा अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए ।
हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताएका छन् । एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ ।
खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए । सोही मुमेन्टमा कुवेतले दोस्रो गोल गरेको थियो ।
डिस्चार्ज भएपछि उनले फेसबुकमा लेखेका छन्, ‘चिन्ता नगर्नुहोस्, म गोर्खाली हुँ । एक टिम, जय नेपाल !’




