यहाँ ध्यानकर्ता उघार्छन् अँधेरो
जहाँ ज्ञानभर्ता थकौटो छ मेरो ।
यहाँ सान सौगातका बात धेरै
जहाँ मानमर्जीहरू खात धेरै ।१।
यहाँ धर्मशाला र बाटो बगान
झुटा कर्मकाण्डी मदारी समान ।
छ सङ्कीर्तनै ताल एकाग्रता छ
छ देखावटी धर्म धारे जबाफ ।२।
यहाँ ढोल पिट्ने पुरानै कहानी
लुटेरै कमाएर धुत्ने छ बानी ।
खुला दानपेटी महायान दान
तिरो ठेग भेटी विवेकी नठान ! ।३।
उचालिन्छ धेरै बटारिन्छ फेरि
उठेँभन्छ कोही थचारिन्छ फेरि ।
यहाँ ढाँट खेती तलैमाथि सम्म
निराशै निराशा तनावै छ टन्न ।४।
महङ्गी उचालेर डुब्दैछ मान्छे
बिचौली खुसाएर दुख्तैछ मान्छे ।
सिको त्यै पुरानो बिरानै छ चाल
सधैँ नै अहम्ता न कैल्यै कमाल ! ।५।
निरोधी छ चक्की खुराफात चल्छ
कतै वास बस्तै मुलाकात चल्छ ।
अहो ! तेल घस्तै बढो झेल चल्छ
लुकी दण्ड पाखण्ड ओझेल पर्छ ।६।
यहाँ घात आघातका मेल चल्छन्
विचारै नमिल्ने मिली मेल गर्छन् ।
नसोचौँ कसैले छ यो देश उस्तो
खुँगी खार भान्छे कठै ! देश निस्तो ।७।




