समाचार

स्थानीय तह निर्वाचनकाे सन्देश

स्थानीय चुनावले नेपाली राजनीतिलाई केही सकारात्मक मोडमा ल्याइदिएको छ । देशका मुख्य पार्टी नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् भन्ने पनि चुनावले स्थापित गरिदिएको छ ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले प्रष्ट पारेकोछ ।

यस अघि आम मतदातालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाव्दारा शान्तिपूर्ण एवम् भयरहित तवरबाट निर्वाचनमा सहभगी हुन अपिल जारी गरेर निर्वाचनलाई उत्साहपूर्वक एवम् शान्तिपूर्णरूपका साथै भयरहित वातावरणमा सम्पन्न गराउन विशेष आग्रह समेत गरिएको थियो।

कांग्रेसका सभापति शेरबहादुर देउवाको अपीलको पूर्णपाठ

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

यही बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो । स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो । हरेक नागरिकका सुखदुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो । नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन् । अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकता साथ सहभागी भई मतदान गर्न आह्वान गर्दछु ।  

 नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको इतिहास साक्षी छ । नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा नेपाली कांग्रेसको निर्णायक भूमिका रहँदै आएको छ । नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्था बारे तपाईं हामी सबै जानकार नै छौं ।  

 नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिवद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवद्र्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने लगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको छ ।  

 लोकतन्त्रको रक्षा र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोभिड-१९ को महामारीको त्राशदीमा रहेका आम नागरिकलाई २०७८ चैत्रभित्र खोप उपलब्ध गराउने प्रतिवद्धता समयमै पूरा भएको छ । अन्योलमा रहेको मेलम्चीको खानेपानी यही बैशाख भित्र वितरण गरी काठमाडौं नगरवासीको आकांक्षा पूरा गर्न सरकार सफल भएको छ । नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु–शासनका पक्षमा उल्लेखनीय काम भैरहेका छन् ।  

पहिलो स्थानीय तह निर्वाचनकै बेलादेखि सिंहदरवारबाट शासन र विकास निर्माणका काम तराई–मधेशदेखि हिमाल–पहाडका गाउँ नगरसम्म पु-याउने अभियानमा कांग्रेस लाग्दै आएको छ । स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत साधनको अधिकतम परिचालन गर्दै संघ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेष गरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आय आर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्ने तर्फ नेपाली कांग्रेस क्रियाशील हुनेछ । स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न नेपाली कांग्रेस कसैसँग सम्झौता गर्दैन । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक छन् भन्ने प्रष्टै छ ।  

आम नागरिक तथा राजनीतिक दलहरुको विश्वासमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एकपटक ईटा थप्ने अवसर प्राप्त गरेको छ । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगमा सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार तपाईं आमाबुवा, दिदीबहिनी तथा दाजुभाइका हातमा आएको छ । नेपाली कांग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो । ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार  समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु ।  

जय नेपाल !

सभापति

शेरबहादुर देउवा

निर्वाचनका क्रममा केही स्थानमा झडप हुनुलाई सामान्य रुपमा लिईएको हुन्छ । मुलुक भर सुरक्षा निकायले भरपूर कोशिस गर्दा गर्दै अपवादको रुपमा भएका घटनालाई सरकारको कमजाेरी भन्न नहुने आम मतदाताको बुझाई रहेको छ ।

रजनीतिक कर्यकर्ता बीचको तु तु मै मैले उत्पन्न विवादमा भएका झडप र गोलीका कारण केहि ठाउँमा मतदान स्थगित भएको थियो।

यस्ताे छ उदाहरणका रुपमा :

चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको पोखराको मतगणना स्थलस्थल जिल्ला समन्वय समितिको परिसरमा पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका प्रतिनिधिबीच विवाद भएपछि एमाले कर्यकर्ता बाहिर निस्केर नाराबाजी गरेका कारण केही बेर मतगणना स्थगन भएको थियो ।

धरानकाे मतगणाना स्थलमा माओवादीकाे नाराबाजी,विद्यालय ताेडफाेड

धरान उपमहानगरपालिका वडा नम्बर २० को मतगणना स्थलमा मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतदान अधिकृतको विरोध गर्दै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गर्दै नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नाराबाजी गरेकाले मतदान स्थल तनावग्रस्थ भई मतगणना स्थगित गर्नुपरेको थियो।

यस्तै कञ्चनपुर  जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर २ को मतगणना गर्ने क्रममा १ सय मतपत्रको मुचुल्का भएको मतपेटिकामा १ सय २० मतपत्र भेटिएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएर झडपको स्थिति सिर्जना भएकोले मतगणना स्थगित भएको थियो।

त्यसै गरी केहि मतदान केन्द्रमा पुनः नर्वाचन पनि भएका छन।

हालसम्म सम्पन्न स्थानीय तहको निर्वाचनलाई मुल्याङ्कन गर्ने हो भने-

स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) मा झण्डै ६० प्रतिशतमा एक्लै जित हासिल गरेको देखिएको छ । बाँकी ४० प्रतिशतमा तालमेलमा जितेको छ ।

कांग्रेसले हालसम्म जारी मतगणना अनुसार २८५ सिट जितेर अग्रता लिइरहेको छ । जसमध्ये १७१ सिट एक्लै जितेको छ । बाँकी ११४ सिटमा तालमेल गरेर जित निकालेको छ ।

प्रदेशहरूमा सबैभन्दा बढी १ नम्बर प्रदेशमा कांग्रेसले ६१ सिट जितेको छ । जसमा ३३ तहमा तालमेलबाट जित निकाल्दा २८ मा एक्लै जितेको छ । तालमेलबाट जितेकाहरूमध्ये एउटामा नेकपा एमालेसँग तालमेल गरेर जितेको छ भने, बाँकी सबैमा सत्तारूढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एससँग तालमेल गरेर जितेको छ ।

कांग्रेसले वागमती प्रदेशमा दोस्रो धेरै जित निकालेको छ । जहाँ ५३ तहको नेतृत्वमा जित्दा ३२ तहमा तालमेल र २१ तहमा एक्लै जित निकालेको छ ।

मधेस प्रदेशमा जित निकालेका सबै ३१ स्थानीय तहमा बिना तालमेल जित निकालेको छ । यस्तै गण्डकी प्रदेशमा ३५ तहमा जित निकालेको कांग्रेसले १७ तहमा तालमेल र १८ तहमा एक्लै लडेर प्रमुख/अध्यक्ष जितेको छ ।

यसैगरी लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा अहिलेसम्म कांग्रेसले जित निकालेको छ । जसमध्ये २७ तहमा एक्लै र ११ तहमा तालमेलबाट जित निकालेको छ । कर्णाली प्रदेशका २० तहमा एक्लै लडेर जित निकाल्दा १२ तहमा तालमेलबाट जित निकालेर समग्रमा ३२ तहमा हालसम्म कांग्रेसका प्रमुख/अध्यक्ष जितेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म ३५ स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरू मेयर र अध्यक्ष पद जित्न सफल भएका छन् । जसमध्ये २६ तहमा एक्लै र ९ तहमा तालमेलबाट जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *