काठमाडौं । यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति नेपाली कांग्रसले आपति जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझाबपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरुका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरुमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको थियो ।
राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको तालमेललाई गठबन्धनमा संलग्न सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास समेत गरेका थिए । विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । नेपाली कांग्रसले यसलाई स्वभाविक मानेकाे छ ।
नेकपा (एमाले) का अध्यक्ष के.पी.शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद अर्पण गरेका छन् । । तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन ।
निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो । विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न नेपाली कांग्रेसले आग्रह समेत गरेको छ ।
सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको हो । नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पु¥याउन कहिकतै कमि गरेको छैन । यो स्मरण गराउन चाहान्छौं कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको विज्ञप्तीमा उल्लेख छ ।






