विश्व

युक्रेनको मारिउपोलमा जित हासिल गरेको पुटिनको दाबी

कीभ । युक्रेन-रुस युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा युद्धको सबैभन्दा ठूलो लडाइँमा विजयी भएको दाबी गरेका छन् । पुटिनले करिब दुई महिनाको घेराबन्दी पछि मारिउपोलको बन्दरगाह ‘मुक्त’ भएको घोषणा गर्दै लडाइँ जितेको दाबी गरेका हुन् । यद्यपि, अझै पनि सैयौं युक्रेनी सैनिकहरू स्टिल कारखानामा लुकेर बसेका छन् ।

पुटिनले बिहीवार नै स्टिल कारखानामा आक्रमण गर्न आवश्यक नभएको बताउँदै त्यस्तो योजना रद्द गर्न आदेश दिएका थिए । युक्रेनले पुटिनको यस कदमको उपहास गरेको छ । आफ्ना सेनाको अन्तिम प्रतिरोधबाट बच्न यस्तो कदम चालेको भन्दै युक्रेनले पुटिनको उपहास गरेको हो । पुटिनको यस कदमलाई युक्रेनले आफ्ना फौजलाई पराजित गर्न नसकेको रूपमा अर्थ्याएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई भारी युद्धास्त्र सहित थप ८० करोड डलरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । युक्रेनले पूर्वी क्षेत्रमा रुसी आक्रमणको सामना गरिरहेका बेला बाइडेनले युक्रेनमा दर्जनौं हाविट्जर, एक लाख ४४ हजार राउन्ड गोलाबारुद र रणनीतिक ड्रोन पठाउने वाचा गरेका हुन् ।

रुस-युक्रेन द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको उनको भनाइ छ । ‘हामी अहिले समयको महत्वपूर्ण विन्दुमा छौं जहाँ उनीहरूले यस युद्धको अर्को चरण तय गर्न गइरहेका छन्’, उनले भने । बाइडेनले सरकार सञ्चालनका लागि थप ५० करोड डलर सहयोग गर्ने पनि बताएका छन् ।

गत साता पनि बाइडेनले ८० करोड डलरको हतियार प्याकेज घोषणा गरेका थिए । उनले कंग्रेसलाई कीभका लागि थप सहायता प्रदान गर्न पूरक कोषको लागि पनि आह्वान गरेका छन् । बाइडेनले रुसमाथिको प्रतिबन्ध थप गर्दै अमेरिकी सीमाबाट रुसी सम्बद्ध जहाजहरू प्रतिबन्ध गर्ने योजना पनि घोषणा गरेका छन् ।

यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको नेतृत्वले आफ्नो देशमा आक्रमण गरेर ‘विनाशकारी गल्ती’ गरेको बताएका छन् । उनले युद्ध अन्त्य गर्ने सम्बन्धमा प्रत्यक्ष वार्ताका लागि मस्को जान अस्वीकार गरेका छन् । जेलेन्स्कीले रुसी मिडिया आउटलेट मिडियाजोनालाई भने, ‘यो प्रश्न बाहिर छ ।’

कुनै समय चार लाख मानिसको घर भएको मारिउपोलले फेब्रुअरी २४ मा रुसी सेनाले आक्रमण गर्दा शुरु भएको युद्धको सबैभन्दा चर्को लडाइँ मात्र देखेको छैन, यसको सबैभन्दा नराम्रो मानवीय विपत्ति पनि भोगेको छ । राष्ट्रपति जेलेन्स्कीले एक लाख २० हजार सर्वसाधारणलाई अझै पनि मारिउपोल छोड्नबाट रोकिएकोे बताएका छन् । मस्कोले उक्त सहरबाट एक लाख ४० हजार नागरिकलाई मानवीय सहायतामा निकालेको जनाएको छ । तर कीभले भने केहीलाई बल प्रयोग गरेर देश निकाला गरिएको भन्दै त्यो युद्ध अपराध हुने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *