रचन कार्की /
छिमेकी मुलुक भारतमा सन १९८९ देखि निरन्तर आजसम्म पनि विभिन्न दलहरुको गठबन्धनबाट सरकार गठन भइरहेको छ, कहिले एउटा बलियो दलसँग भने कहिले अर्को दोस्रो बलियो दलसँग अरु साना दलहरुले गठबन्धन गर्ने गरेका छन। नेपालमा पनि २०४६ साल पछि निरन्तर विभिन्न दलहरु मिलेर मिलिजुली सरकार गठन गर्दा पनि कुनैपनि सरकार पूरा समय आफ्नो कार्यकाल चलाउन पाएका छैनन् , चुनाव पछि बन्ने गणितीय सरकार बारम्बार असफल हुनाले चुनाव अघीनै दुई ठुला पार्टीले अरु पार्टीलाई समाहित गरेर गठबन्धन बनाउन आवस्यक देखेर नै २०७४ पछि यो शृङ्खला सुरु भएको अवस्था हो। २०७४ को चुनावमा तिनैतह तालमेल गरेर जाने निष्कर्षमा पुगेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफ्ना कार्यकर्ताहरुलाई त्यो मोडालिटी सम्झाउन बुझाउन नसक्नाले स्थानिय चुनाव लगत्तै तालमेल बिग्रेको थियो त्यसको परिणाम बाम एकता भई प्रदेश र संघको चुनावमा कांग्रेस नराम्ररी पछि परेको यथार्थ हो।
नेपाली कांग्रेसलाई अब आईन्दा सरकारमा आउन नदिनकै लागि बाम एकतालाई सधै यथावत राख्नको हेतु एमाले र माओवादी मिलेर नेकपा पार्टी बन्यो तर ओलीको तानाशाही प्रवृत्ति र घमण्डले गर्दा सबैभन्दा ठूलो पार्टी र दुई तिहाईको सरकार असफल भई झन तीन टुक्रामा विभाजित हुनपुग्यो, र आज ती दुई टुक्रा नेपाली कांग्रेस सँग तालमेल गरेर गठबन्धन सहित तीन तहकै चुनावमा जाने र बहुमत हासिल गर्न हातेमालो गर्दैछन।
यसैक्रममा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले सँग अरु साना दल आ-आफ्नो फाईदा र स्वार्थ हेरेर गासिदै गएका छन। २०७९ सालमा हुने तिन तहकै चुनाव भनेको नेपाली कांग्रेस र नेकपा एमाले बिच वारपारको लडाइँ हुने निस्चित छ, जहाँ जित हासिल गर्न यी दुबै दल जस्तोसुकै र जोसुकै सँग सहमति,तालमेल र गठबन्धन गर्न पछि नपर्ने आजको सत्यता हो।
यो अवस्थामा यी दुबै ठुला दलका कार्यकर्ताहरु आफ्ना नेताहरुको पकडमा र आज्ञाकारी छन कि छैनन् भन्ने कुरा चुनावको नतिजाले प्रस्टै पार्नेछ। आम मतदाताहरु पनि यो परिस्थितिमा कुन ठिक कुन बेठिक भनेर छुट्टाउन नसक्ने अवस्था रहेकोले राज्यको चौथो अङ्ग भनेर चिनिने प्रेस मिडिया र पत्रकारहरुले कसलाई समर्थन गर्छन वा वकालत गर्छन भनेर कुरेर बसिरहेका छन। देशका विद्वान बुद्धिजीवी वर्गहरु कता ढल्किन्छन हेर्न बाँकी नै छ। नयाँ र पहिलो पटक मतदाता बनेका लाखौ युवाहरुलाई कसले कसरी आकर्षित गर्छन त्यो पनि हेर्न बाँकी छ। महिला मतदाताहरु र वृद्धवृद्धा मतदाताहरु लाई नेपाली कांग्रेस र नेकपा एमाले कसले आफ्नो तर्फ तान्न सक्छन सबैको चासो त्यसतर्फ गएको छ।
यो लडाइँ साच्चिकै भन्ने हो भने कांग्रेस v/s कम्युनिस्ट को हो।MCC जस्तो योजनामा कट्टर देखिएका माओवादी र एमाले समाजवादी लाई धरी आफ्नो पोल्टामा पार्न सफल भएको नेपाली कांग्रेस अहिले बलियो अवस्थामा रहेको छ। भविष्यमा प्रचुरमात्रामा विदेशी सहयोग ऋण अनुदान र सहायता ल्याउन सक्ने नेपाली कांग्रेस नै देखिएकोले उसको सरकार बनेमा देशमा शान्ति,समृद्धि र बिकास हुने कुरामा दुईमत छैन। यो कुरा सबैले बुझ्न र बुझाउन आवस्यक रहेको छ।




