सम्पादकीय

एक हातमा कमल,अर्को हातमा क्रिश्चियन वोकेर ओली कता जादैछन ?

एक्लै सत्तरी प्रतिशत मत ल्याउँछु भन्ने एमाले अध्यक्ष केपी ओली पनि गठवन्धनमा लागेका छन । उनले आफू ठूलो ठेकेदार वनेर पेटी ठेकेदार चाहि राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेका कमल थापा र नेपालमा क्रिश्चियन धर्म प्रचारक एकनाथ ढकाललाई रोजेका छन । प्रधानमन्त्री हुदा यिनै ढकालको पछि लागेर सोल्टी होटलमा ओली तिनरात सुतेका थिए–पछि यसैलाई होली वाइन काण्ड भनियो तर एमाले र ओली वृत्तबाट खास होलीवाइनका प्रचारक माधव नेपाल हुन भनियो । तर,यतिवेला घाटीमा रुद्राक्षको माला लगाएर चुनाव प्रचारमा निस्किएका ओलीले तिनै होली वाइनका प्रवर्तकसंग गला मिलाएका छन ।


एमालेले राप्रपा नेपाल र परिवार दलसँग किन गठवन्धन गर्यो ? यसको पछाडिको मकसद के होला त भनेर हालैको एक साँझ चर्चा चल्यो । एमालेकै एक मझौला तहका नेताले भने–देशभर पाच हजार भोट नभएको कमल थापासँग मिल्नु पर्ने वाध्यता के हो कुरै वुझिएन ।


वास्तावमा भन्ने हो भने ओलीको चालढाल वुझिनसक्नुकै छ । चुनाव प्रचारमा पुर्वको खोटाङ देखि पश्चिमको जुम्लासम्म ओली एक्लै हान्निएका छन । उनले एमालेमा धुवादार,लक्ष्यदार भाषण गर्ने घनश्याम भुषाल,योगेश भटटराइलाइ ढिम्किन दिएका छैनन । दस भाइको त नामै लिन चाहेका छैनन । र,यसरी दौडिएका ओलीले एमाले एक्लै सत्ता गठवन्धनको लागि काफी छ भन्ने सन्देश दिएका छन तर भित्र भने उनी नारायणमान विजुक्छेस देखि विप्लवसंग पनि सहकार्यको लागि तयार भएका छन ।
चुनावमा अचेल सिद्धान्तका कुरा हुदैनन । पार्टी कार्यकर्ता सिद्धान्त हेरेर पार्टीमा लाग्दैनन । यहाँ केवल स्वार्थ र फाइदा मात्र हेरिन्छ । यसैकारण त विपरित सिद्धान्त भएका दलहरु पनि चुनावमा मिलिरहेका छन । चाहे जसरी नै किन नहोस जित्नु परेको छ हरेक दललाइ,हरेक नेतालाइ। हार्ने डर भएका हरेक नेता गठवन्धनको लागि तयार छन । र,जसले चुनावमा टिकट नै नपाउने अहिले कन्फर्म छ उसले मात्र गठवन्धनको विरोध गरिरहेका छ । तर,एमाले अध्यक्षले कमल थापा र एकनाथ ढकाललाई किन सुर्य चिन्ह दान गरे ?


कमल थापा कुनै सिद्धान्तका पक्षधर होइनन । पञ्चायतको पछि लाग्दा फाइदा भयो अनि उनी पञ्च भए । गणतन्त्रपछि राजा र हिन्दुधर्म वोक्दा भोट आउछ भन्ने लाग्यो अनि दक्षिणपन्थी धारमा लागे । वारम्वार उनले टाउकोमा कफन वाधेर राजाको पक्षमा लागे भनेको कुरा अहिले आफैलाई गलपासो भएको छ । किनभने राप्रपाको चुनाव हारेपछि उनी राजा विरोधी भइसके । तर,हिन्दुधर्मको मुद्धा वोकिरहेका छन । कति मानिसले उनलाई मन पराउँछन,त्यो वेग्लै कुरा हो तर थोरै भएपनि पुर्वपञ्च र हिन्दुधर्म प्रति आस्थावानको साथ उनलाई रहनेछ । र,भारतको हिन्दुधर्मका प्रचारकहरु सांस्कृतिक र आर्थिक सहयोगको अपेक्षा पनि छ । यसले राजनीतिक फाइदा हुने उनको विश्वास छ । कमल थापा जसरी फ्रि स्टायल रेस्लर हुन,ओली पनि उही डयाङका मुला हुन । कमललाइ सूर्य चिन्ह दान दिएर उनी धर्मप्रति आस्था राख्नेहरुको मत लिन चाहन्छन । यसमाथि ठोरीवाला रामका पिता त केपी अ‍ोली नै हुन ।


तर,कमल थापालाइ रंग दलेका काग हुन,वास्तविक कोइली होइनन भनेर झापाली राजेन्द्र लिङदेन देश दौडाहमा छन । अर्थात,कमलले मात्र धर्मको विडो थाम्न सक्दैनन र हिन्दु धर्मवालाहरुको वलमा मात्र चुनाव जित्न सकिन्न भन्ने जब ओलीलाई लाग्यो तब उनी क्रिश्चियन धर्म प्रचारकको शरणमा परे । उनले गोखाली ढकाललाइ सूर्य चिन्ह दिए र यसवापत देशभरका इसाइ धर्ममान्नेहरुको मत लिने कोशिश गर्नेछन । इसाइ धर्म प्रचारकहरु मत मात्र छैनन,उनीहरु नोट पनि छ । ओलीलाई अहिले दुवै चिज चाहिएको छ–नोट र भोट । यसैले बजारमा अहिले दुइ खालको होड चलेको छ ।
एक–कपाल नभएको मानिसलाइ काइयो वेच्ने ।


दोस्रो–तेल लगाए कपाल झर्नबाट रोकिन्छ भनेर तेल वेच्ने । यी दुवै काम ओली गर्न खोज्दैछन । तर काग र कोइलीमा को वाठो ? ओलीको कार्यनीतिले काम गर्दछ कि सत्ता गठवन्धनका प्रचण्ड–देउवाको नीतिले ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *