काठमाडौं ।विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो ।
बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्रमा यो वर्ष करिब ४५.१ प्रतिशतले सङ्कुचित हुने र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूका कारण रुसको अर्थतन्त्र ११.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै बैंकले आर्थिक संकुचनको असर युरोप र मध्य एसियाली देशहरूका उदीयमान बजार र विकासशील देशहरूले भोग्ने समेत विश्व बैंकको पछिल्लो आर्थिक प्रक्षेपणले जनाएको छ। विश्व बैंकले रुसी आक्रमणका कारण पूर्वी युरोप र मध्य एसियामा कोभिड महामारीले भन्दा बढी आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेको छ ।
युक्रेनका अधिकांश मानिसहरू युद्ध मैदानमा खटिएको वा शरणार्थी भई विदेश पलायन भएका कारण आर्थिक गतिविधिमा कमी आएको विश्व बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रक्षेपणले मध्य एशियाली देशहरूको रेमिट्यान्समा समेत युद्धका कारण धेरै असर पार्ने जनाएको छ ।
युद्धले विश्वव्यापी मन्दी ल्याउने, मुद्रास्फीति र ऋण बढाउने तथा गरिबी बढाउँने चिन्तालाई थपेको विश्व बैंकले जनाएको छ। बैंकले युद्धका कारण वित्तीय बजार, व्यापार, आप्रवासन र बजारको आत्मविश्वासमा प्रतिकूल प्रभाव पारिरहेकाले संसारभरको आर्थिक वृद्धिदरमा असर पार्नसक्ने चेतावनी पनि दिएको छ ।
बैंकले युक्रेनलाई हालसम्म १ अर्ब डलरको सहयोग गरेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब सहयोग गर्ने बीबीसीले जनाएको छ । कृष्ण सागरको तटमा रुसी बन्देजका कारण युक्रेनबाट हुने अन्न निर्यात ९० प्रतिशतले कमी आएको छ ।




