काठमाडौँ । सत्तारुढ पाँच दलले संयुक्त अपील जारी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढिरहेका बेला गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गरेका हुन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका हुन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ,– ‘पाँच दलीय गठबन्धनको अपिल अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ ।’
परिवर्तलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवतर्नका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन् । देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन् ।
व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन समेत सबैमा अनुरोध गरेका छन् ।
विज्ञप्तीमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
चुनावी तालमेलको मोडालिटीको बारेमा गठबन्धनको भोलि बस्ने बैठकमा छलफल हुने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।





