केपी ओलीको कार्यशैलीका कारण नेकपाको झन्डै दुईतिहाइको सरकार विघटन गराएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालहरुले कस्तो राजनीतिक संस्कार र संस्कृतिको विकास गर्दैछन् ? आम मानिसले चासोपूर्ण किसिमले नियालिरहेको अवस्थामा सरकारको निर्णयले थप आक्रमण देखिन्छन् । संसदको सदस्य नरहेको व्यक्तिलाई ६ महिने मन्त्री बनाउनेदेखि आफ्ना नातेदार र निकटम्हरुलाई कार्यविधि मिचेर राजदूत बनाउने, राजनीतिक नियुक्ति दिने तथा रकमको लेनदेनसँगै विवादित व्यक्तिलाई टेलिकमको कार्यकारी निर्देशक समेत बनाउने सरकारको निर्णयले ओली सरकारभन्दा देउवा सरकार फरक यस कारणले हो भन्न सक्ने स्थिति रहेन ।
निर्वाचन आचारसंहिता लागू हुनै लागेको क्षणमा गरिएको राजनीतिक नियुक्ति आफैमा विवादस्पद हुन्छ । त्यसमा पनि छनोट भएका पात्र र प्रवृत्तिले सकरात्मक सन्देश दिएन । संसदीय शासन व्यवस्थाका मुलभूत मान्यता र सिद्धान्तभन्दा पृथक भएर गरिएका निर्णयहरु आफैमा अमान्य हुने नै भए । त्यसमा प्राथमिकतामा राखिएका व्यक्तिहरु समाजमा स्वीकार गर्ने खालका, राज्यको प्रतिनिधित्व गर्न योग्य र आवश्यकताभन्दा आफ्ना नातेदार र गुटका अनुचर मात्र हुनु दुर्भाग्यपूर्ण नै हो । यस्तो नियति पटक पटक किन दोहोरिन्छ भन्ने अहंम सवाल आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मनमस्तिष्कमा सलबलाउँछ । राजनीतिका त्यस्तै मानिस आउने र उनीहरुले आफ्नो भूमिका र जिम्मेवारीलाई लेनदेन र भागवण्डामा टुंग्याउने प्रवृत्ति हाबी भएकै छ । उनीहरु के बोलवाला र हैकम चलिरहेकै छ । स्थानीय निर्वाचनका उम्मेदवारहरुको छनोटमा व्यापक लेनदेन र भागवण्डाको रस्साकस्सी चलेको देखिन्छ । निर्वाचनमा कसले कति पैसा खर्च गर्छ भन्ने कुराबाट उम्मेदवारको योग्यता परीक्षण हुँदै गएको सुनिन्छ । राम्रो मान्छे होइन, हाम्रो र पैसा भएको खर्च गर्न सक्ने, त्यसमा पनि पार्टीको टिकट खरिद गर्न सक्ने आर्थिक हैसियत भएको व्यक्तिलाई उम्मेदवार बनाउन दलका ठेकेदारहरु लागिपरेका छन् । राजनीतिमा कुनै योग्यता र योगदान नभएका व्यक्तिहरुबाट प्रशिक्षित कार्यकर्ताले वडा तहबाटै भ्रष्टाचार गर्न सिकेको देखिन्छ ।
वडामा यति बजेट आउने रहेछ, यसको खर्च गर्दा पाँच वर्षमा यति आम्दानी हुन्छ, त्यसको आधा निर्वाचनमा खर्च गर्न सकिन्छ भन्ने सोच, चिन्तन र दृष्टिकोणबाट अभिपे्रेरित समूहले कस्तो परिणाम दिन सक्ला ? स्थानीय सरकारको अवधारणा र उद्देश्य बमोजिम कार्य सम्पादन गर्ने जानकारी नै छैन । केवल त्यहाँ आउने बजेटबाट कति फाइदा निकाल्न सकिन्छ भन्ने हिसाबकिताब मात्र छ । यस्तो हिसाब गरेर निर्वाचनमा जाने र लेनदेनबाट उम्मेदवार हुने, खरिद गरेर पद हत्याउनेबाट कस्तो राजनीतिक संस्कार र संस्कृतिको विकास होला ? के यसैको लागि पार्टी विभाजन भएको हो ? पदको लागि, स्वार्थको लागि गरिएको विभाजनमा सहयोग पु¥याउनु किन जरुरी प-यो ।
राजनीतिमा कुनै योग्यता र योगदान नभएका व्यक्तिहरुबाट प्रशिक्षित कार्यकर्ताले वडा तहबाटै भ्रष्टाचार गर्न सिकेको देखिन्छ ।
अमुक अमुक व्यक्तिलाई सांसद वा मन्त्री वा राजदूत वा मेयर वा अध्यक्ष बनाउन, अनेकौं प्रकारका अनियमितताका साथ दिन दल विभाजन भएको हो ? कि असल राजनीतिक संस्का र संस्कृतिको विकास गर्न ? के दाहाल नेपालहरु असल राजनीतिक संस्कार र संस्कृतिको विकासमा देउवालाई सहयोग गरिरहेका छन् ? दाहालले देउवालाई व्यवहार कुशल नेता भनी फुर्काएका छन् । छोरी रेणु दाहाललाई भरतपुरको मेयर बनाउन मात्र कुशल नेता भनेका हुन् कि अरु नियोजित मनसाय योजना, रणनीति तथा साझेदारीको पनि कुरा छ ? पार्टीमा प्रचण्ड बहुमत बनाएका देउवाले दाहालको ग्रण्ड डिजाइन बुझेर नै अगाडिका कदमहरु उठाउलान् ? देउवालाई आगामी आम निर्वाचन पछिको प्रधानमन्त्री सुनिश्चित गर्नु मात्र हुनसक्छ । तर उनका अनुयायी अनुचर तथा परिवारजनलाई त्योभन्दा अगाडि पनि यात्रा गर्नुपर्ने होला । अगाडिको राजनीतिक यात्राका लागि बाटो राख्नुपर्ने हेक्का को कसले राखेका छन् ? कसले त्यस किसिमको सल्लाह र सुझाव उपलब्ध गराएको होला ? आफूलाई अनुकूल हुनेभन्दा फरक किसिमको सल्लाह न देउवाले सुन्छन् न त सुनाउनेले सुनाउँछ । पार्टीको वृहत्तर हितको कुरा कोट्याउनेहरु पनि देउवाको मन्त्री पदको ‘उपहार’ पश्चात शान्त हुने निश्चित नै छ । अगाडि आएको ‘उपहार’ अस्वीकार गर्न सक्ने क्षमता, ल्याकत औकात तथा सामथ्र्य भएको नेतृत्व नेपाली कांग्रेसमा मात्र होइन, नेपाली राजनीतिमा नै विकास भएको भेट्टाउन सकिँदैन ।
लोकतान्त्रिक शासन व्यवस्थामा यस किसिमको बेथिति, विकृति र अवस्था फस्टाएपछि शासन प्रणाली बद्नाम र असफल हुन्छ । प्रणालीको विकास रुपान्तरण र स्थायित्वप्रति कुनै पनि दल, नेता र कार्यकता इमान्दार छैनन्÷भएनन । देशको जर्जर अवस्थाप्रति कोही गम्भीर चिन्तित छैन । सार्वजनिक संस्थाहरु निकम्मा बनेका, बनाइएका छन् । अर्थतन्त्र श्रीलंकाको पथमा जाने खतरा छ । महँगी बेरोजगारीले जीवन धान्न नसक्ने स्थिति छ । परिश्रमी व्यक्तिलाई जिविकोपार्जन गर्न समस्या नै समस्या छ तर कुनै व्यवसाय, काम र आम्दानीको वैधानिक श्रोत नभएको, राजनीतिक व्यवसाय गरेको व्यक्ति आलिसान महलमा बस्छ, महँगो गाडी चढ्छ, तडकभडको जिन्दगी चलाउँछ । त्यो कहाँबाट आयो ? राज्य श्रोतको दोहन गरेर, धम्क्याएर, असुलेर, भ्रष्टाचार गर्न र गराउन लगाएर महँगो जीवन जिउने राजनीतिक व्यवसायबाट नेपाली राजनीति मुक्त नभएसम्म कुनै पनि दल वा नेतृत्वले शासन प्रणालीको विकास स्थायित्व र प्रभाव विस्तार गर्न सक्दैन । किनबेच, खरिदबिक्री, भ्रष्टाचार, कमिसनमा राज्य लिप्त हुन्छ र आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सक्दैन । यसले राज्य व्यवस्थालाई क्रमशः असफल बनाउँदै लैजान्छ ।




