कला/साहित्य

सजधज

गाई मारेर गधा पोस्नेहरू
जाई मासेर उनिउँ रोप्नेहरू
भाइ लघारेर कुनि उँझोस्नेहरू
अघाउन्जेल डकारेर बीउसहित जीउमास्नेहरू
साधारण छन् उदाहरणमा
तर असाधारण लाग्छन्
मेरा हरेक बस्तीका बासिन्दा
र मुकामभित्रका बास सुवासमा ।

लाज लाग्छ ढर्रा, ठर्रा र जर्राहरू देख्ता पनि
टुकुचाको दुर्गन्ध आउँछ
साम्नेमा कुनै वेला भेट्ता पनि
उन्माद भरिएर कुमहल्लाउँदै हाँस्छन् तिनींहरू
उस्तै लाग्छन् राज्य संचालनका हकदारहरू
दुरुस्त छन् सुन्दरता चुस्न माहिर
उन्नाय ककहलाएका चमकदारहरू ।

मरिकुच्च जल्लाद सरह छन् कोही
विदेश खुसाएर देश हाँक्नेहरू
कुरा बढी काम कमको व्यस्ततामा दिनहुँ बस्नेहरू
थला पारिरहेछन् स्वयम् आमा र आफूलाई
थचारिरहेछन् वास उचालिरहेछन् आकाश
झुटो माया र मुठो आश्वासनमा
दुना टपरी झैँ गाँस्नेहरू
नपलाउने गरी विश्वास सबै गुमाइरहेछन् ।
लामो सास तान्दै आशाको पासा लडाएका छन्
निराशा छोपेर पावरको खातलाएका छन्
शब्दैपिच्छे बिरासतको धतधाजमा रमाएका छन्
चिप्लिंदै छन् पछारिंदैछन् बीचबीचमा
र असङ्ख्य यात्रुका लात खाएका छन्
न त कसैको साथ छ
न यात्राको गन्तव्यमा पुग्नै भ्याएका छन्
फगत सुस्ताएका छन्
र कुहिराको काग हुन पाएका छन्
पिरो छाती अमिलो डकार फालेर
सजधज झिक्तै गमक्कसँग
गुडिया बोकेर गुड्डी गाएका छन्
आहा ! क्या रमजान छ ! क्यातामझाम छ
एकेक सबैले उपरखुट्टी लाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *