नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् । भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो ।
यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ ।
एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटील समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।




