काठमाडौँ । नदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन ।
नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष/राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य जारी हुन्थ्यो । सो वक्तव्यलाई नेपाल र भारतका विदेश मन्त्रालयले जारी गर्ने गरेकोमा योपटक भने प्रधानमन्त्री देउवाको भारत भ्रमणमा वक्तव्य जारी हुन सकेन ।
प्रधानमन्त्रीको भारत भ्रमणपछि संयुक्त वक्तव्य जारी हुन नसकेको यो पहिलोपटक भने होइन । यसअघि केपी शर्मा ओली सन् २०१६ मा पहिलोपटक प्रधानमन्त्री भएर भारत भ्रमण गरेका बेलामा पनि भारतले संयुक्त वक्तव्य जारी गर्न अस्वीकार गरेको थियो । त्यतिबेला भारतले नेपालले जारी गरेको संविधानको केही बुँदामा असहमति राख्दै आएको थियो ।
भारतले योपटक संयुक्त वक्तव्य जारी गर्न नमान्नुको कारण भने नेपाल–भारतबीच देखिएको सीमा विवाद हो । सीमा विवादको विषय संवादमार्फत हल गरिनुपर्ने कुरा नेपालले उठाएपछि भारतले आफू अनुकूल नहुने भन्दै वक्तव्य जारी गर्न नचाहेको हो । भ्रमण दलबाट फर्किएको परराष्ट्रका अधिकारीका अनुसार नेपालले सीमाको विषय उठाएपछि भारतले अहिलेलाई वक्तव्य जारी गर्ने मनसाय नदेखाएको हो ।
देउवा अघिल्लोपटक प्रधानमन्त्रीका रूपमा सन् २०१७ मा भारत भ्रमणमा जाँदा पनि संयुक्त वक्तव्य जारी भएको थियो । देउवापछि दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका ओलीको भारत भ्रमणमा पनि दुवै देशले सहमति भएका विषय समेटेर संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।
प्रधानमन्त्री देउवाले हाल देखिएको सीमा विवादको समस्या हल हुनुपर्ने भारतीय समकक्षी नरेन्द्र मोदीसँग राखेपछि भारतले सो विषयमा मौनता साँधेको हो । सीमा समस्या सुल्झाउने विषयमा भारत संवादका लागि अझै तयार देखिएको छैन । देउवाले संयुक्त पत्रकार सम्मेलनमै सीमा विषयमा छलफल भएको जानकारी गराए पनि मोदी मौन रहँदा सो विषयले प्राथमिकता पाउन सकेन । यद्यपि, नेपालले भने सीमा समस्या हल गर्ने विषयमा भने जोड दियो ।




