कला/साहित्य

हार्दैन युग

हजुर आमाको दन्त्यकथा सुन्दासुन्दै
झकाउने नातिनातिनाहरू
मुहारिका पुस्तकमा गहिरिएका छन् अहिले
प्रविधिको विधानभित्र छिरिरहेका छन्जहिले
गीतगायन, ज्ञान र सङ्गीतमा
तरुनीतन्नेरी हराएका छन्
देखिन्छन् सशरीर बाहिर
तर भित्रै बिलाएका छन्
थाहा पाउँदैनन् बाआमाले बोलाउँदापनि
बिर्साइरहेछ युगले घडीको अलार्म
पानी,भोक र स्वयम जिन्दगानी
निंदभित्र पस्न भ्याउदैन जोडी नयन
नयाँ संसारभित्र घोप्टिएको घोप्टियै छ मान्छे
तन र मनभरिको अमन चैनले
बिर्सेको छ हिंड्ने बाटो
भुलेको छ काम र दाम
बनेझैँ लाग्छ अधकल्चो
भ्याएन सम्झिन नातागोता आफन्त र सुसम्बन्ध
दास भएझैँ उपबासमा रमेको छ
बिर्सेको छ मान्छेले सास फेर्न र बास बस्न पनि ।

एउटा नवजात शिशु गुम्फित चीत्कारसँगै
फोटो खिचिमाँगेर बिसाउँछ रोदन
नयाँ तस्बिर खोजेर एक्लै खिल्खिलाउँछ जवान
खेल्दै प्रविधिसँग स्तनपानमा रमाउँछ अन्जान
र टुकुटुकु हिंड्न नभ्याउँदै
एक्लिएर समाजदेखि बाँच्न रुचाउँछ दिनमान ।
जन्मिनै नभ्याई नयाँ ज्ञान सिकाउँछ कोही
पुरानो पुस्तालाई ओठे जवाफ लाउँछ कोही
सिकारुको कित्तामा उभ्याउँछ
नयाँ पुस्ताले जित्छ तर हार्दैन युग
कुत्कुतिन्छ मान्छे र उचालिन्छ विज्ञताको सिंहासनमा ।

०……………………….०……………………….०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *