काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तका आधारका गठबन्धन हुने बताएका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महतले गठबन्धनबारे सधैं एउटै उदाहरण दिएर नहुने उल्लेख गर्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आग्रह गरे ।
केन्द्रीय समिति बैठकमा चितवन कांग्रेसका पूर्वसभापति टेकप्रसाद गुरुङले चितवनमा गठबन्धन हुँदा कांग्रेसले सधैँ गुमाउनु परेको धारणा राखेका थिए । सो विषयमा प्रवक्ता महतले भने, ‘गठबन्धन गरेपछि त लेनदेन हुन्छ नै । सधैं एउटै उदाहरण दिएर मात्रै हुँदैन, कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा सोच्नु पर्छ ।’
महतले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा भएका सहमति कार्यान्वयन हुने समेत बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसिसी भर्खरै पास भएको सन्दर्भमा भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई शंकाका दृष्टिकोणले हेर्न नहुने पनि उनले स्पष्ट पारे ।
‘सहमति भएको छ । यो कार्यान्वयन हुनेछ । विकास सहयोग र अन्य सहयोगका विषयमा हामीले छलफल गरेका छौँ । अन्य दलका नेताहरूसँगको छलफलबारे हाम्रो टिप्पणी छैन,’ महतले भने, ‘एमसीसी भर्खर पास भएको छ । उहाँको भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न हुँदैन ।’




