सम्पादकीय

चिसो चीनकाे नाकाबन्दी खुलाउ !

काठमाण्डौं । चीनको कुटनीतिलाई साइलेन्ट डिप्लोमेसी भनिन्छ । कतिपयले शान्त कुटनीति पनि भन्छन । हिमालयको काखमा रहेको चिनियालाई चाहि चिसो चीन भन्दछन । हत्तपत्त प्रतिक्रिया नदिने,अन्यत्र राजनीति गरि नहिडने भनेर चिनलाई चिसो भन्दछन । खासगरि नेपालमा चीनको बारेमा राम्रो इमेज छ । यसको दुई कारण छन–एक,चीनले नेपालको राजनीतिमा खुल्ला हस्तक्षेप नगरेको,नेपालको कुभलो नचिताएको ।


दुई,नेपालमा भारी मात्रामा कम्युनजिमलाई आदर्श मान्ने वाम मत छ । यो मतले माक्सलाई आदर्श मान्दछ भने लेनिन र माओलाई पनि उतिकै मान्दछ । राजनीतिक रुपमा आदर्श मानेको देशलाई राम्रो मान्नु स्वभाविक कुरा हो । र,भारतले बारम्वार अनावश्यक कुरामा पनि खिचला गर्दा त्यो वाम जनमत झन आफूले राम्रो मानेको चिनलाई अझ राम्रो भनिरहेको छ ।
तर के हामीले चिनेको चीन नै सम्पुर्ण चीन हो ? वा,नेपालमा सचित्र चीन भनेर जुन ठूलो किताव वाडिन्छ,त्यो नै चीन हो त ? कुटनीतिका धुरन्धर विद्धानहरु हामीले चिनलाई चिनेकै छैन भनेर भन्न थालेका छन । खासमा चीन हो चाहि के ? छ चाहि कस्तो ?
२०७२ सालमा ठूलो भइचालो आयो नेपालमा । गोरखा देखि सिन्धुपाल्चोकसम्म तहशनहस पार्यो यसले । यसको केही समय पछि भारतले नेपाललाई नाकावन्दी गर्‍याे । संविधान निर्माण गर्दा भारतको सहमति वेगर चलेको भन्दै ठुल्दाई वनेको भारतले नाकावन्दी गर्‍याे। यहि वेला प्रधानमन्त्री केपी ओलीले चीनसँग पाँच वुदे ब्यापार तथा पारवहन सन्धी गरे । यसपछि नेपाल ल्यान्ड लक्ड होइन ल्यान्ड लिंक्ड भयो भनेर प्रचार गरियो तर एक हजार किलोमिटर पर रहेको कलकत्ता वन्दरगाहको वदलामा नेपालले चार हजार किलोमिटर लामो सिगात्से हुदै पुगिने वन्दरगाहको ढोका कागजमा खुल्यो । तर, ब्यवहार कस्तो भयो भने नाकावन्दीले थिलथिलो भएको चीन तर्फबाट नेपाल प्रवेश गर्ने कोदारी र रसुवागढी नाका त्यही वेला चीनले बन्द गरिदियो । एकातिर भुकम्प,अर्कोतिर नाकावन्दी अनि चीनको अघोषित नाकावन्दी । भारतको नाकावन्दी त खुल्यो तर चीनको नाकावन्दी अझै खुल्ला भएको छैन । तर,आज पनि भारतको सत्तोसराप गरेर डिलमा बसेर गाली गर्ने नेता नेपालमा जति पनि छन तर चिनलाई नाका खुलाउ भन्ने कोही छैन ।


तर,हालै मात्र नेपालले अमेरिकी सहयोग एमसीसी संसदबाट पास गरेरै लियो । जसरी संविधान जारी गर्दा भारतले नोट गरेको भनेर प्रतिक्रिया दियो, उसैगरि नेपालको संसदले एमसीसी पास गरेर लिदा चिनले नोट गरेको भनेर प्रतिक्रिया दियो । अर्थात आफनो अरुचीको विषयमा नेपाल अघि वढ्दा भारत वा चीन दुवैले निधार खुम्चाउदा रहेछन ।


चीनका विदेशमन्त्रीले यसपटक केही अनौठाका काम गरेका छन । उनले नेपालमा मात्र होइन,दक्षिण एशियाका मुलुकहरु अफगानस्तान र भारतलाई पनि चकित पारेका छन । उनको पाकिस्तान जाने कार्यक्रम थियो र गए । तर,अफगानस्तान तालिकामा नै थिएन । तालिवानले शासन लिएपछि उनी पहिलो पटक गए र अफगानस्तान पुगेर त्यहा रुख समेत रोपेर आए । यसपछि उनी उस्तै गरि अचानक भारतले उत्रे । भारतीय मिडिया नै मध्यरातमा लेखिरहेका थिए कि चीनका विदेशमन्त्रीको सरप्राइज भिजिट भयो भनेर । दक्षिण एशियाका तिन देश घुमेर उनी नेपाल एयरलायन्सबाट काठमाण्डौं उत्रे शुक्रवार । र,शनिवार विहानै उनी शिवपुरीमा हाइकिङगर्न पुगे ।


एमसीसी पास गरेपछि चीन नेपालसँग रिसाएको जगजाहेर नै छ । चीनलाइ खुशी पार्न भनेर पोखरा विमानस्थल बनाउदा जस्तो चर्को ब्याजदरको अर्को ऋण लिने काम नहोस । र,नेपालले कुन देशसँग के लिने भन्ने कुरा आफू तय गर्न सक्षम भएको कुटनीतिक सन्देश दिन जरुरी छ । कुनै पनि विदेशी पाहुना आउदा वा नेपाली नेता विदेश जादा लामो लिष्ट थमाएर यति काम गरिदेउ भन्ने चलन छ । यो क्रमलाई पनि रोक्न जरुरी छ । र,चीनको विदेशमन्त्रीको यो भ्रमण यसकारण पनि महत्वपूर्ण छ कि यसपछि लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा भारत भ्रमणमा जादैछन । कुनै पनि छिमेकीसंग झुकेर,तल परेर होइन,समान ब्यवहार गर्न नेपालले जरुरी भइसकेको छ । कुटनीटिमा उत्ताउलोपन राम्रो होइन । भारतको नाकावन्दीको विरोध गरिरहदा चिनको नाका किन खुलेनन भनेर नेपालले यसपटक भन्न सक्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *