काठमाडौँ । रुसले युक्रेन आक्रमणमा व्यापक रुपमा मिसाइलको प्रयोग गरिरहेको छ । रुसले ठुला मिसाइलबाट युक्रेनका आवासीय भवनहरुसहित विद्यालय, अस्पताल, सार्बजनिक भवनहरुलाई निशाना बनाइरहेको छ । तर युक्रेन आक्रमणमा ठुलो संख्यामा रुसी मिसाइल फेल भएको रिपोर्ट सार्बजनिक भएको छ ।
रोयटर्सले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै युक्रेनमा रुसी मिसाइलहरु ६० प्रतिशतसम्म असफल भएको उल्लेख गरेको छ । मिसाइलको असफलता विभिन्न कारणले भएको हुनसक्ने बताइएको छ । जसमा मिसाइल प्रक्षेपण गर्न असक्षमता देखि मिसाइल विस्फोट गर्न असफल हुनु रहेको बताइएको छ ।
युक्रेनका विभिन्न शहरहरुमा देखिएका विष्फोट नभएका मिसाइलहरुले पनि रुसका मिसाइल असफल भएको देखिएको छ । तर यसको प्रतिशतका बारेमा भन्ने यकिनका साथ् भन्न नसकिने वा आधिकारिक रुपमा पुष्टि गर्न नसकिने बताइएको छ ।
अमेरिकाले रुसले युक्रेन आक्रमणमा एक महिनाको अवधिमा कम्तीमा १ हजार १ सय क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । अमेरिकाले आफ्नो लक्ष्यमा कति प्रहार गरे र उनीहरूले सफलतापूर्वक विष्फोट गरे भनेर भने खुलाएको छैन ।




