राजनीति

कांग्रेसमा बहसः चुनावमा गठबन्धन कि एकल ?

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कमिटीको बैठक चैत ११ गते बस्ने भएको छ। गठबन्धनका विषयमा कमिटीको धारणा एकीकृत गर्न र उम्मेदवार चयन गर्न बनाइने संसदीय समिति गठन गर्न बैठक बस्दैछ। कमिटीको बैठकले स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको पहिलो चरणको प्रभाव कस्तो पर्यो भन्नेबारे पनि विश्लेषण गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

‘पार्टीका केन्द्रीय सदस्यका साथीहरू बसेर कहाँ–कहाँ गठबन्धन गर्ने चुनावमा कसरी जाँदा धेरैभन्दा धेरै पालिकामा जित हाँसिल गर्न सकिन्छ भन्ने निचोड निकाल्छौं,’ महतले भने, ‘साथीहरू यतिबेला गाउँ–गाउँ पुग्नुभएको छ। वडा र पालिकाहरूसँगको गठबन्धन कहाँ कस्तो हुन्छ भन्ने बारे बैठकमा छलफल हुन्छ।’ देशभरका ७५३ स्थानीय तह तथा ६ हजार ७४३ वडामा पाँच वर्षे कार्यकालका लागि नयाँ जनप्रतिनिधि चयन हुँदैछन्। त्यसका लागि आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनको मितिसमेत सार्वजनिक भइसकेको छ।

कांग्रेसको विधान २०१७ (संसोधन सहित)को परिच्छेद आठमा संसदीय समितिसम्बन्धी व्यवस्था गरिएको छ। सोही परिच्छेदमा पार्टीबाट उम्मेदवारको योग्यता, उमेदवारको सिफारिस, निर्णय र अनुमोदनसम्बन्धी व्यवस्था पनि गरिएको छ। विधानले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *