स्थानीय निर्वाचनमा दलहरुले प्रस्तुत गरेका उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको छ । राजनीतिक दल र यसको नेतृत्व आयोगको निर्णयलाई सहयोग पु¥याउने किसिमले उम्मेदवारहरु तय गर्दैछ वा त्यसलाई धोती लगाउने तयारीमा छ । गम्भीर प्रश्न उठ्न थालेको छ । निर्वाचनमा उम्मेदवार हुन नै आर्थिक हैसियत मापन गरिने संस्कार विकसित हुन थालिरहेको अवस्थामा राजनीतिक दलहरुले खर्च गर्न सक्ने मात्र होइन दलको टिकट खरिद गर्नसमेत सक्ने व्यक्तिलाई छनोट गर्छन् वा राजनीतिलाई सेवाको रुपमा लिने इमान्दार र निष्ठावान व्यक्तिलाई छनोट गर्छन् ? यसैबाट आयोगको निर्णय र आचारसंहिताको पालना हुन्छ वा हुँदैन अनुमान लगाउन सकिन्छ । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका तथा कठिन समयमा जेलनेल यातना, प्रवास बसेका व्यक्तिहरु निर्वाचन उठ्नै नसकिने गरी महँगो बनाइयो, र अवैध धन्दा गरी पैसा बनाएका बलवान र धनवानहरुलाई प्राथमिकता राखियो भन्ने गुनासो गर्दै आएका छन् ।
पुराना मानिसको मात्र होइन, नयाँ पुस्ताको पनि त्यस्तै चाहना र भावना देखिएपछि सर्वसाधारण मानिस राजनीतिप्रति नै वितृष्णा व्यक्त गर्दछन् । सामान्य भेटघाट र कुराकानीमा पनि प्रश्न तेस्र्याउछन् कि यी नेता भनाउँदाहरु किन जेलनेल गएका हुन् ? किन जोखिम मोलेका थिए ? दुःख कष्ट र यातना कुन प्रयोजनका लागि थियो ? भन्ने सबै भुली आफ्नो र परिवारको सुखसुविधा र उन्नतिका लागि मात्र केन्द्रित भएका छन् । जसरी पनि आफू बलियो बन्नुपर्छ त्यसका लागि सिद्धान्त, विचार, कार्यक्रम, त्याग संघर्ष सबै बेच्न पनि तयार भएका छन् । जनता केन्द्रित राजनीति नभएर आफू र आफ्नो परिवार केन्द्रित राजनीतिमा लागेका देखिन्छन् । यसमा थोरै पनि असजिलो वा हिनताबोध छैन । खुलमखुल्ला राष्ट्रिय श्रोत, साधन र सुविधा व्यक्तिगत हितमा प्रयोग गरेका छन् । यस्तो सोच, चिन्तन र दृष्टिकोण भएको नेतृतव र यही नेतृत्वबाट विक्षित भएका पुस्ताले निर्वाचन आयोगले तोकेको खर्चभित्र रहेर निर्वाचन लड्लान ? निर्वाचन स्वतन्त्र निष्पक्ष र धाँधलीरहित किसिमले होला ? दल र यसको नेतृतवले टिकटको किनबेच नगर्लान् ?
कस्तो मानिसले राजनीति गर्ने संस्कार नै भएन । जसले लुट्न र कुट्न सक्यो जसका केही थान आपराधिक क्रियाकलाप छन्, जसले ढगढाक, लुटलाट, ठोकठाक गर्न सक्यो, उसको नै राजनीतिक प्रोफाइल राम्रो बन्दै गएको छ । विश्वविद्यालयको मुख नदेखेको, माध्यमिक तहको शिक्षा पूरा नगरेको, अरुलाई लेखाएर प्रमाणपत्र लिएको, चोरीको, विक्रीको प्रमाणपत्र बोकेको, समाजले खराब सूचिमा राखेको, हप्ता असुल्ने, ज्यान मार्ने, भ्रष्टाचार गर्ने, अन्याय र अत्याचार जानेको अन्य कुनै क्षेत्रमा काम लाग्ने नदेखिएको, चौबिसै घण्टा निक्कमा नेतृत्वको वरिपरी घुम्ने राजनीतिको नाममा जिविकोपार्जन गरेको व्यक्ति नै नेतृत्वलाई स्वीकार्य र उपयुक्त हुने राजनीति मौलाएको र फस्टाएको छ ।
सामान्य चेतना भएको, आलोचनात्मक दृष्टिकोण राख्ने, ठीक, बेठीक छुट्याएर विरोध र समर्थन गर्ने व्यक्ति नेतृत्व तहलाई स्वीकार्य नै छैन । उसलाई सामान्य अवस्थामा नेता भनाउँदाहरुको घर बैठकमा प्रवेश नै दिइँदैन । हप्ता उठाएर इमान्दारिताका साथ बुझाउने कार्यकर्ता मात्र चाहिएको छ । त्यसकै प्रयोग भएको छ । अली राम्रा र इमान्दार व्यक्तिहरु त यस देशमा बस्न नै चाहँदैनन्, बस्ने वातावरण नै छैन, बसेका पनि मूलधारमा छैनन्, उनीहरुको कुरा सुन्न कोही लोभीपापी तयार छैनन्, दोस्रो यो अस्वस्थ्य, अर्मादित र भ्रष्ट राजनीतिमा त्यस्ता मानिसको मोहभंग भएको छ । यस्तो अवस्थामा आउने मानिस त्यस्तै हुन्, जो राज्यको साधन र श्रोत दोहन गर्न चाहन्छन्, प्राकृतिक उपहार ध्वस्त बनाइ आफ्नो स्वार्थ पूरा गराउँछन्, स्थानीय श्रोतको दोहन गरी त्यसलाई वैधानिकता दिई आफ्नो अभिष्ट पूरा गर्छन् र त्यसको केही हिस्सा भ्रष्ट नेतृत्वसम्म पु¥याउँछन् । स्थानीय तहकै नेता र कार्यकर्ता पनि त्यही ब्रह्मलूट देखेर आकर्षित भएका छन् ।
त्यसका लागि ठूलो रकम खर्च गरेर टिकट किन्न तयार छन् र ठूलै रकम खर्चेर निर्वाचन जित्न चाहन्छन् । अनि कसरी होला आयोगको खर्च सीमाको पालना र कार्यान्वयन ? कसरी बस्ला राजनीतिक संस्कार र संस्कृति ? के सिक्ला नयाँ पुस्ताले ? लोकतन्त्रको रुप र स्वरुप कस्तो बन्ला ? दलहरु नै इमान्दार, पारदर्शी र प्रष्ट नभएको हाम्रोजस्तो देशको लोकतान्त्रिक शासन व्यवस्थाले कसरी स्थायित्व विकास र समृद्धि प्राप्त गर्ला ? यही नेतृत्वले सुशासन विकास र स्थिरताको नेपाली जनताको चाहना र सपना पूरा गर्छ भन्ने विश्वास गर्न सकिन्छ त ?
नयाँ भनिएको पुस्ता त अझ बढी भ्रष्ट, बेइमान र अपरादर्शी देखिदै छ । पुस्तान्तरण र रुपान्तरणको विषय उठान गर्ने व्यक्तिहरुको भूमिका र प्रस्तुति सन्तोषजनक पनि छैन । उनीहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सबै प्रतिबद्धता त्याग्न तयार देखिन्छन् । संस्थाहरु बनाउने र प्रभावकारी कार्य सञ्चालन गराउने दिशामा धयान नै गएको छैन । उनीहरुको प्रस्तुतिले आशा गर्ने ठाउँसम्म बनेको भए सकरात्मक प्रभाव देखिन्थयो । तयस्तो सम्भावना होइन, समाजका खराबभन्दा खराब भनिएको स्वार्थपूर्ण सहयोगमा आफूलाई सफल बनाउन अग्रसर देखिन्छन् ।
स्थानीय निर्वाचनलाई नै लिएर मानिसहरु व्याङ्ग्य गर्न थालेका छन् कतै– स्नातकोत्तर (एमए) गरेका इमान्दार, निष्ठावान र योग्य व्यक्तिहरु म्यादी प्रहरीमा भर्नाको लागि लाइनमा हुनेछन् र भ्रष्ट दलाल, तस्कर, माफिया, ठेकेदार डन तथा माध्यमिक शिक्षा पूरा गर्न नसकेका, अरुलाई लेखाएर सर्टिफिकेट लिएका, चोरीको प्रमाणपत्र भएका र भारतीय बजारबाट सर्टिफिकेट खरिद गरेका व्यक्तिहरु अगाडिको पंक्तिमा जनताको प्रतिनिधिको प्रतिस्पर्धामा उम्मेदवार हुने छन् । यस्तो विडम्बनापूर्ण परिदृश्यका अगाडि केही थान युवाहरु रुपानतरण र पुस्तानतरणको ठगी, झेली र अपरादर्शी गफ दिन राज्य दोहन गरी खरिदको विलासीपूर्ण गाडीमा सवार हुने छन् जसलाई युवाहरुको ढुकढुकी, आस्थाको केन्द्र हाम्रो अभिभावत्व भनी स्वागत र सत्कार गर्ने जमात त्यही स्वार्थी र भ्रष्टले खडा गर्नेछ र आफ्नो अभिष्ट पूरा गराउने छ । जुन दृश्य बिना हस्तक्षेप टुलुटुल हेर्न स्वीकार गर्न र कुनै न कुनै किसिमले तयसमा सहभागिता जनाउन इमान्दार र निष्ठावान मानिस बाधय हुनेछ । त्यस किसिमको चरित्र भएको लोकतन्त्र र आवाधिक निर्वाचन अलिक समय चल्ने देखिन्छ ।




