काठमाडौं । साउदी अरबका विदेशमन्त्री नेपाल भ्रमण गर्ने भएका छन् । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदीका विदेशमन्त्री अल सउद यही फागुन ३० गते दुई दिने भ्रमणका लागि आउन लागेको जानकारी दिए ।
फागुन ३० देखि चैत १ सम्म हुने भ्रमणका क्रममा नेपालको तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्का नेतृत्वको वार्ता टोली गठन गरिएको छ । ‘नेपाल र साउदी अरब सरकारबीच हुने जनरल कोअपरेशनबारे कुरा हुनेछ’, उनले भने, ‘नेपाल हरेक कुरामा सुन्दर भए पनि श्रमिकहरु विदेश गइरहेका छन् । उनीहरुको बढी भन्दा बढी हकहितको पक्षमा साउदीका मन्त्रीसँग कुरा हुनेछ ।’
त्यस्तै नेपालका श्रम मन्त्री किसान श्रेष्ठ कतारसहित तीन वटा देशको भ्रमणमा जाने भएका छन् । मन्त्रीका कार्कीका अनुसार उनी संयुक्त अरब, सेसेल्स र कतार भ्रमणका जाने भएका छन् । त्यहाँ पनि नेपाली श्रमिकको पक्षमा कुराकानी हुने कार्कीले बताएका छन् ।




