रिबन

आफूहरुभन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोको पछिल्लो निर्णयको गम्भीर निन्दा गरेका छन् । नेटोले युक्रेनको हवाइ क्षेत्रलाई ‘नो-फ्लाइ जोन’ घोषणा गर्न युक्रेनले गरेको माग अस्वीकार गरेपछि जेलेन्स्कीले निन्दा गरेका हुन् ।

नेटोले नियतवश युक्रेनको आकाश प्रतिबन्धित गर्न नचाहेको र यसबाट आफूहरु भन्दा नेटो राष्ट्र भित्रभित्रै कमजोर रहेछन् भन्ने सावित भएको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी छ । उनले युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि नजोगिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

आक्रोशित मुद्रामा प्रतिक्रिया दिँदै जेलेन्स्कीले नेटोका नेताहरुको आलोचना गरे । जेलेन्स्कीले भनेका छन्, ‘आजदेखि जो कोही पनि यो युद्धका कारण मृत्यु हुनेछ, ती सबैको मृत्यु तिमीहरु (नेटो)का कारण हुनेछ । तिमीहरुको कमजोरी र तिमीहरुले एक्ल्याएका कारण हुनेछन् ती मृत्युहरु ।’

रुसले युक्रेनमा आक्रमण गरेको आज दशौँ दिन हो । हिजो रुसले युरोपकै सबैभन्दा ठूलो भनिएको जापोरिज्यामा रहेको परमाणु केन्द्र कब्जा गरेको छ । मुख्य सहरमा आक्रमणका घटना रोकिएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *