काठमाडौं । युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ। युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हो।
रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।

त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रूर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए।
आक्रमण सुरु भएदेखि हालसम्म भएका मुख्य घटनाक्रमहरू यस्ता छन्:
- हताहतमा परेका आम मानिसको सङ्ख्या कति पुग्यो अझै स्पष्ट छैन। तर संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार २४ फेब्रुअरीयता १० लाखभन्दा बढी मानिसहरू युक्रेनबाट पलायन भएका छन् र लाखौँ मानिसहरू अन्यत्र जाने क्रम जारी छ।
- आक्रमणका कारण ध्वस्त हुने पहिलो प्रमुख युक्रेनी सहर खेअर्सन थियो।
- रुसी क्षेप्यास्त्रहरूले राजधानी किएभ र दोस्रो ठूलो सहर खार्किभलाई पनि निसाना बनाएका छन्। सडकबाट किएभतर्फ लागेको विशाल रुसी फौज हाल रोकिएको छ।
- मारिओपोको दक्षिणी बन्दरगाह अझै पनि रुसी घेराबन्दीमा छ र रुसी सेनाहरू अर्को बन्दरगाह ओडेसातर्फ पनि बढेका छन्। दुवै बन्दरगाहलाई कब्जा गर्दा युक्रेनको सामुद्रिक पहुँच बन्द हुन्छ।
- रुसी सेनाले शुक्रवार घण्टौँसम्म आक्रमण गरेपछि युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया पारमाणविक ऊर्जा केन्द्रलाई पनि कब्जामा लिएको छ। यस कदमलाई विश्वका नेताहरूले आलोचना गरेका छन् र उनीहरूले यसले ठूलो विनाश निम्त्याउन सक्ने आकलन गरेका छन्।
- सन् १९८६ मा दुर्घटना भएयता निष्क्रिय चेर्नोबल ऊर्जा केन्द्र पनि रुसी नियन्त्रणमा छ।
- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा ‘नो-फ्लाई जोन’ लागू गर्ने प्रस्ताव निरन्तर अस्वीकार गरेकोमा पश्चिमा राष्ट्रहरूको आलोचना गरेका छन्। उनले भने,”मर्ने सबै मानिसहरू त्यहीँ कारणले मर्ने छन्।“
- अमेरिका र युरोपेली सङ्घले रुसको केन्द्रीय ब्याङ्क साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको भित्री समूह लक्षित गर्दै सम्पत्ति रोक्का गर्ने व्यापक प्रतिबन्धहरू लगाएका छन्। प्रतिबन्धको बीचमा रुबलको भाउ घटेको छ जसले व्यापार, लगानी र मानिसको यात्रालाई पनि असर गरेको छ।
- रुसले युक्रेनमा युद्धको रिपोर्टिङमा प्रतिबन्ध लगाउने कठोर कानुनलाई स्वीकृत गरेपछि बीबीसीलगायत स्वतन्त्र सञ्चारमाध्यमहरूले रुसमा पत्रकारिता स्थगित गरेका छन्।
- सामसङ, एअरबीएनबी र कार्टियरजस्ता कम्पनीहरूले रुसमा गर्ने निर्यात स्थगित गरेका छन्।




