काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । बिहीबार बिहान असन्तुष्ट रहेका नेता श्रेष्ठलाई प्रचण्डले आफ्नै निवास खुमलटारमा बोलाएर आधा घन्टा छलफल गरेका हुन् ।
गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । एमसीसी पारित गर्न नहुने पक्षमा रहेका श्रेष्ठ व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष प्रचण्डसँग रुष्ट छन् । पार्टीभित्र विद्रोह निम्त्याउने जोखिमकाबीच प्रचण्डले श्रेष्ठसँग छलफल जारी राखेका हुन् ।
एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको स्मरण गराएका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएपछि आन्तरिक विवाद चर्किएको हो ।
बिहीबार पनि अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजन गर्ने र विभाजन हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका थिए । जवाफमा नेता श्रेष्ठले भने तपाईंले पार्टी छोडेर गए हुन्छ भनिसकेकाले परिस्थिति धेरै बिग्रिसकेको प्रष्ट पारेका थिए।
श्रेष्ठ असन्तुष्ट भएपछि बुधबार साँझ माओवादी केन्द्रका नेता वर्षमान पुन पनि हात्तिवन पुगेर छलफल गरेका थिए।




