नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाई बहुमतको सरकार जनताले पाँच वर्षका लागि निर्वाचित गरेकोमा निर्धारित अवधिसम्म सरकार चलाउन सनकी संसद विघटन हुन पुग्यो । त्यो पनि एकपटक नभएर दुई–दुई पटक । सम्मानित सर्वोच्च अदालतले संवैधानिक व्याख्यामार्फत् पुनस्र्थापना गरेको संसदबाट बनेको देउवा नेतृत्वको वैकल्पिक सरकार नेकपा विभाजित भइ बनेको माओवादी केन्द्र र एमाले विभाजित भई बनेको नेकपा एकीकृत (समाजवादी) को कारण संकटमा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्पमा बनेको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पनि तिनीहरुले नै प्वाल पारी डुबाउँदै छन्, जसले ओलीको सरकार डुबाएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई विस्थापित गर्नु अन्यथा थिएन होला । किनभने उनीहरु अस्थिर स्वभावका सत्ताकांक्षी र भ्रष्टाचारी सावित भएकै व्यक्ति हुन् । चाहे ‘जनयुद्ध’ नामा लुटिएको सम्पत्तिको अपरादर्शीता होस् चाहे क्यान्टोनमेन्टको रकम हिनामिना होस्, चाहे सत्तामा रहँदा वा नरहादा शारदा अधिकारी जस्ता ठेकेदार विचौलिया र दलालसँग मिली गरिएको अक्षम्य बद्मासी नै किन नहोस्, दाहाल नेपाली राजनीतिमा अस्थिर, भ्रष्ट र असफल मात्र हुन् । सत्ताका लागि कहिले कोसँग कहिले कोसँग मिली आफ्नो वैचारिक अवसान गराउने पात्र र प्रवृत्तिको पर्याय बनेका छन्– दाहाल । उनले ओली र देउवालाई आफ्नो स्वार्थ र विदेशी शक्ति केन्द्रको इसारामा चलाउन खोजेका हुन् । ओलीलाई गलहत्याएर देउवामार्फत् पूरा गर्न चाहेको स्वार्थ वा अभियानमा असमन्जस्यता देखिएपछि आफैले चिठी लेखी पठाएका अमेरिकी अनुदान एमसीसीलाई सतहमा देखाएर देउवा नेतृत्वको सरकारलाई संकटमा पारेका छन् । यो उनको चरित्र हो, चरित्र बुझ्नेले यो घटनालाई त्यत्ति अनौठो मान्दैनन्, स्वभाविक नै जस्तो लाग्छ ।
एमालेकै नेताहरु माधव नेपाल, झलनाथ र वामदेव गौतमलगायतहरु पनि शक्ति राष्ट्र चीनको प्रभावमा परेर एमसीसीमार्फत् देउवा नेतृत्व सरकार विस्थापनमा लागिपरेका छन् । स्थायित्व र विकासको नाममा निर्वाचित भएर आएका यी कम्युनिष्टहरु आगामी निर्वाचनमा त्यही एमसीसी बोकेर जान खोज्दैछन् । शक्ति राष्ट्रहरु अमेरिका र चीनलाई आन्तरिक राजनीतिमा भिडाएर आफ्नो स्वार्थ र अभिष्ट पूरा गराउन दाहाल, नेपाल, खनाललगायतका जनताका प्रतिनिधिहरुले खेलेको भूमिकाले नै नेपाली राजनीति अस्थिर, विभाजित र अन्योलग्रस्त भएकोमा विवाद छैन । कम्युनिष्ट एकताको नाममा बनाएको नेकपा र यसको सरकार व्यवस्थापन गर्न नसक्नेहरुले बाँकी के चमत्कार देखाउँछन् भनी विश्वास गर्नु वा भरोसा गर्नु ?
प्रधानमन्त्रीले विपक्षी दलसँग कुनै पनि विषयमा सहयोगको लागि संवाद गर्नु वा आग्रह गर्नु अस्वाभाविक होइन । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदारीका लागि लम्पसार पर्नु सामान्य होइन । यो कस्तो सत्ता र स्वार्थमुखी चरित्र हो ? कहिले ओली हटाउने त कहिले देउवाको विकल्प खोज्ने दाहाल प्रवृत्ति परास्त नभएसम्म नेपाली राजनीति बद्नाम हुने क्रम र गतिमा बढोत्तरी हुँदै जाने निश्चित छ । कांग्रेससँग सत्ता सहकार्य गर्दागर्दै उफ्रिएर ओलीको पोल्टामा गएका दाहाल पार्टी नै एकता गरेपछि पनि ओलीबाट उफ्रिएर देउवाको दैलोमा शरण लिन पुगेका थिए । उनले पार्टी मात्र फुटाएनन्, पुरानो एमाले पनि च्यातिदिए । मानौं नेपाल र झलनाथ खनाल दाहालकै आड भरोसामा पार्टी विभाजित गर्नसम्म पुगे । अर्थात् यी घटनाक्रमहरुमा देश र जनताको मुद्दा र विषय थिएन । केवल उनीहरुको व्यक्तिगत स्वार्थ मात्र थियो । व्यक्तिगत स्वार्थका खातिर पार्टीका अन्य नेता र कार्यकर्ताहरु यता र उता हुनु नेतृत्वको दासत्व स्वीकार गर्नु हो । नेतृत्वले कार्यकर्ता पंक्तिलाई दास बनाएको छ । राजनीतिमा क्रमशः दासत्व स्वीकार गर्ने पात्र र प्रवृत्ति स्थापित, सफल र योग्य ठहरिने वातावरण बन्दै गएको छ ।
एमसीसी स्वीकार गर्दा नेपालको सार्वभौमसत्ता खतरामा नै पर्ने हो त ? एउटा गम्भीर सवाल खडा गरिएको छ । के कति कारणले त्यस्तो खतरा देखिन्छ त ? भन्ने सवालमा स्पष्टता छैन । निश्चितनै दाताका केही सर्तहरु हुन्छन्, ती सर्तहरु आफ्नो देशको हितमा छन कि छैनन्, त्यो सबैभन्दा ध्यान पु¥याउनुपर्ने महत्वपूर्ण विषय हो । यहाँ त चीनको आवश्यक, अमर्यादित र विनादस्पद चासो समस्याको रुपमा आएको छ । त्यसलाई नै कम्युनिष्टहरु शिरोधार्य गरिरहेका छन् । नेपालको आन्तरिक विषयमा चीनले राखेको अस्वभाविक चासोप्रति एक शब्द पनि बोल्न आवश्यक देखिएको छैन । कार्यकर्तालाई सडकमा पढाएर आफूहरु अमेरिका विरोधी नभएको वक्तव्यबाजी गर्न लागि परेका छन् । यही विषयले सडक र सदन दुवै तातेको छ । सरकार जान्छ आउँछ तर नेपालको विदेश नीति के हो त्यो स्पष्ट भएन भने हाम्रो अन्तर्राष्ट्रिय विश्वसनियता धरापमा पर्छ । विश्वव्यापीकरणको लहर तीब्र भएको समयमा आफ्नो विश्वसनियता समाप्त भएको सन्देश प्रवाह गर्न नेपालका कम्युनिष्टहरु चिनियाँ कमपनीहरुको इसारामा सक्रिय देखिन्छन् । बारम्बारको चासो, चिन्ता र छलफल के स्वार्थको लागि हो भन्ने सामान्य प्रश्न पनि गर्न तयार छैनन् कम्युनिष्टहरु उत्तरतिर । उत्तरको अति चिसो हावाले नेपालको आन्तरिक राजनीतिक वातावरण बिथोलेकै कारण कम्युनिष्ट सरकार मात्र ढलेन, नेपालको स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्धमा समेत प्रश्नचिह्न उठेको छ ।
अब के होला ? सबैको मनमा जिज्ञासा उत्पन्न भएको छ । कांग्रेस–एमालेको सरकार बन्ला कि गठबन्धन सरहला ? एमसीसी पास होला कि नहोला ? अमेरिकी सेना आउने नै हो कि के हो ? व्यक्तिगत रुपमा दाहाल, नेपालभन्दा ओली नै ठीक हुन कि जस्तो देखिन्छ । दाहालले दलहरुलाई धेरै नचाएर आफै नौंटकीका रुपमा देखापरे । उनको विश्वसनियता छैन । कहिले के ? कहिले कता ? भारत र चीनसँगको सम्बन्ध र व्यवहार पनि स्पष्ट भएन । खेल्ने, खेलाउने क्रम बढी चल्यो । त्यस अर्थमा निर्वाचिनमै जाने हो भने ओली नै उपयुक्त हुन्छन् र दुई दलीय प्रतिस्पर्धा तीब्र हुनसक्छ । यसो हुँदा एमसीसी पनि पास हुने र निर्वाचनमा पनि जाने वातावरण बन्न सक्छ ।




