विचार

सिराहा कांग्रेसको संगठन मजबुद बनाउन सभापति पदमा मेरो उम्मेदवारी

सिराहा कांग्रेसका वर्तमान सभापति रामचन्द्र यादवले यसपटक सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । जिल्लाको अधिवेशन आउँदा फागुन २० गते हुँदैछ । कांग्रेसका पुराना नेता यादव क्षेत्रीय सभापति हुँदै सभापति बनेका हुन् । दुई पटक गाविस अध्यक्ष र एकपटक संविधानसभा सदस्य बनेका यादवले सिराह कांग्रेसको संगठन मजबुद बनाउन पुनः सभापतिको उम्मेदवार बनेको दाबी गरे । उनी किन पुनः सभापति बन्न चाहन्छन भन्ने सन्दर्भमा संकल्प खबरले गरेको कुराकानीको सारसंक्षेप–

० जिल्लामा कांग्रेसको संगठनलाई कसरी हेर्नुभएको छ ?
– सिराह जिल्लाको कांग्रेस संगठन राम्रो छ । सभापति एक्लैले केही गर्न सक्दैन, संगठन मजबुत बनाउन टिम चाहिन्छ । सिराहमा धेरै नेताहरु छन् । प्रदीप गिरीदेखि लिएर सीतादेवी यादवसम्मका नेता सिराहकै हुनुहुन्छ । चुनावको जीत हारलाई संगठनको मानक बनाउनु हुँदैन ।

० संसद, प्रदेश र पालिकामा कतिजना जिताउनु भएको छ ?
– चुनावको जीत हारबाट संगठनको मूल्यांकन हुँदैन । चारवटा निर्वाचन क्षेत्र भएको सिराहबाट कांग्रेसले प्रतिनिधिसभामा एकजनाले मात्र जिताउन सक्यो । त्यसबेला भिन्न परिस्थिति थियो, कम्युनिष्टहरुको गठबन्धन बन्यो । म १५ सय मतले पराजित भएँ । प्रदेश र पालिकामा पनि एकदमै न्यून मतले हामी पराजित भयौं ।

० मधेशमा कांग्रेसको संगठन खस्किँदै गएको भन्न मिल्छ ?
– केन्द्र र ठूला नेताको गलत कदमले मधेशमा कांग्रेसको संगठन केही खस्किएको होकी जस्तो लाग्छ । समयमा हामीलाई टिकट दिइँदैन, टिकटका लागि नेताको दैलो धाउँदाधाउँदै सबै थाकेका हुन्छन् । चुनाव आउनुभन्दा एक दुई दिन अगाडि मात्र टिकट दिइन्छ । पदका आकांक्षी धेरै हुन्छन् । अरु पार्टीमा दुई महिनाअघि नै टुंगो लागेको हुन्छ ।

० जिल्ला सभापति भएर दोष केन्द्र र नेतालाई थोपरेर उम्किन मिल्छ ?
– दोष केन्द्र र नेताको मात्र होइन, हाम्रा पनि कमीकमजोरी होलान् । तर जिल्ला सिफारिस गरेको नेतालाई केन्द्रले स्वीकार पर्छ । निर्वाचनभन्दा दुई महिना अघि नै जिल्लाले सिफारिस गरेको व्यक्तिलाई टिकट दिने हो भने चुनावको माहोल बेग्लै हुन्छ । सबै ठाउँमा हामी आफ्नै कारणले झिनो मतले पराजित भएका छौं । यद्यपि हामीले सम्मानजनक मत ल्याएका छौं । ढिलासुस्ती र आन्तरिक कलहले कांग्रेसका धेरै मानिस फोरममा गएका थिए, अहिले हामीले धेरैलाई पुनः कांग्रेसमा फर्काएका छौं ।

० आन्तरिक कलहले संगठन बिग्रियो भन्न खोज्नु भएको हो ?
– हो, कांग्रेसमा आन्तरिक कलह एउटा रोग नै बनेर भित्रिएको छ । यो जिल्ला संगठनमा पनि हाबी भएको छ । मेरै क्षेत्रमा पनि जसले कांग्रेस हराउँछ, उ नै सांसद बन्छ, जो मान्छेको वडामा वडा सदस्य हुँदैन, त्यही सांसद बन्छ, यो अवस्थामा हामी के गर्न सक्छौं र ?

० कांग्रेसको संगठनमा किन यस्तो भएको ?
– यो कांग्रेसको पुरानो रोग हो । अहिले पनि प्रत्येक पालिकामा कम्तीमा ४ जना अध्यक्षका आकांक्षी छन् । एकजनाले टिकट पाउने हुन्, टिकट पाउँछ दुई घन्टा अगाडि मात्र । टिकट नपाउने तीनजनाले कांग्रेस छोड्छन वा स्वतन्त्र उम्मेदवार बन्छन् । ती उम्मेदवारले कम्तीमा एकढेड सय मत काट्छ ।

० तपाईं जिल्ला सभापतिको उम्मेदवार ?
– हो, वर्तमान सभापति पनि म नै हुँ, यसपटक पनि सभापतिको उम्मेदवार हुँ ।

० किन दोहोर्‍याउन चाहनु भएको ?
– जिल्लाको संगठनलाई अझ मजबुद बनाउनका लागि मैले जिल्ला सभापतिमा पुनः दोहो¥याउन चाहेको हुँ । सिराह कांग्रेसको आवश्यकता र चाहना अनुसार नै मैले पुनः सभापतिमा दोहो¥याउन चाहेको हुँ । अब चारवटै क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र १७ स्थानीय तहमा कांग्रेसको पक्कड राख्न मसँग योजनाहरु छन्, ती योजना कार्यान्वयन गर्नका लागि मैले पुनः जिल्ला सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

० जित्नुहुन्छ ?
– जित्छु । सबै हिसाबले मैले नै जिल्ला सभापति जित्छु भन्ने विश्वास छ ।

० जित्ने आधार के हो ?
– मेरो इच्छाले मात्र होइन, सिराह कांग्रेसको चाहनाअनुसार नै म पुनः सभापतिको उम्मेदवार बनेको हुँ । सबैको चाहना र इच्छाअनुसार नै उम्मेदवार बनेकाले म नै विजयी हुन्छु भन्ने आधार हो ।

० यदि जित्नुभयो भने सिराह कांग्रेसले के अपेक्षा राख्न सक्छ ?
– यो जिल्लाको अपेक्षा धेरै छ, चारवटा निर्वाचन क्षेत्र र १७ पालिका छन् । यी सबैमा कांग्रेसको पक्कड हो भन्ने चाहना छ, सिराह कांग्रेसको त्यो चाहना पूरा गर्न सबैलाई एकजुट बनाएर निर्वाचनमा जानुपर्ने दायित्वमा हामीमाँझ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *