विश्व

रुसी आक्रमणमा ४० सैनिकसहित ५० युक्रेनीको मृत्यु

काठमाडौँ । राष्ट्रपति भ्लादमिर पुटिनले सैन्य कारबाहीको आदेश दिएपछि रुसले युक्रेनमा द्रुत मिसाइल आक्रमण गरेको छ ।

यस आक्रमणमा हालसम्म ५० जनाको मृत्यु भइसकेको युक्रेनको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । मृत्यु हुनेमा १० जना सर्वसाधारण छन् भने ४० जना सैनिक रहेका छन् । साथै युक्रेनले ५० रुसी सैनिक मारिएको दाबि गरेको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले रुससँगको सबै कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दै रुससँग आत्मसमर्पण नगर्ने र देशको रक्षाका लागि अगाडि आउन चाहने जो कोहीलाई हतियार उपलब्ध गराउने घोषणा गरेका छन् ।

नाटो गठबन्धनका देशहरूले युक्रेनको साथ दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, हालसम्म उनको तर्फबाट कुनै सैन्य कारबाही भएको बारे स्पष्ट भएको छैन । नाटोले रुससँग सिमाना जोड्ने देशहरूको सुरक्षाका लागि कदम चालेको र जमिन, वायु र जलस्थलबाट थप सहायता पठाउँदै गरेको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *