रिबन

पुटिनको धम्कीबाट पछि हटे अमेरिकी राष्ट्रपति , युक्रेनमा सेना नपठाउने, कडा प्रतिबन्धको तयारी

किभ ।युक्रेनमा रूसी आक्रमणसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसमाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

यसअघि अमेरिकाले युक्रेनलाई सहयोग गर्न आफ्नो सेना पठाउने दाबी गर्दै आएको थियो तर बाइडेनले यसबारे कुनै घोषणा गरेनन्। बाइडेनले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई सहयोग जारी राख्ने बताए।

युक्रेनका राष्ट्रपतिसँग फोनवार्ता गरेपछि अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।

बाइडेनले भने, ‘मैले भर्खरै राष्ट्रपति जेलेन्‍स्‍कीसँग कुराकानी गरेँ। म रूसी सेनाको उत्तेजक र अनुचित आक्रमणको निन्दा गर्दछु। हामीले अन्तरराष्ट्रिय रूपमा निन्दा गर्न चालेका कदमहरूको बारेमा मैले युक्रेनका राष्ट्रपतिलाई जानकारी दिएको छु। यसमा संयुक्त राष्ट्र सुरक्षा परिषद् समावेश छ। राष्ट्रपति जेलेन्‍स्‍कीले मलाई विश्वभरका नेताहरूलाई राष्ट्रपति पुटिनको कदमको निन्दा गर्न र युक्रेनका जनताको पक्षमा रहन आग्रह गर्नुभएको छ।’

अमेरिकी राष्ट्रपतिले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘म भोलि जी-७ का नेताहरूसँग भेट गर्दै छु। अमेरिकाले आफ्ना सहयोगी देशहरूसँग मिलेर रूसमाथि कडा प्रतिबन्ध लगाउनेछ। हामी युक्रेन र युक्रेनी जनताका साथमा छौं।’

यसअघि बिहीबार पुटिनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका थिए। यसलाई युक्रेनी अधिकारीहरूले ‘पूर्ण स्तरको आक्रमण’को रूपमा वर्णन गरे। लुहान्स्क र दोनेत्स्कलाई दोनबास क्षेत्र भनिन्छ। ती क्षेत्रलाई यसै हप्ताको सुरुमा रूसले स्वतन्त्र राज्य घोषणा गरेको थियो।

रूसले युक्रेनमाथि कब्जा गर्ने योजना नभएको पुटिनले बताए। यद्यपि कसैले रूसमाथि आक्रमण गर्ने प्रयास गरे रूसले तत्काल जवाफ दिने चेतावनी दिए। रूसी नेताको भनाइसँगै किभका साथै क्रामातोर्स्क जस्ता पूर्वका शहरमा विस्फोटको आवाज सुनिएको बताएको छ।

सुरक्षापरिषद्को आपत्कालीन बैठक
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा युक्रेनमा सेना नपठाउन आग्रह गरेको वेला रूसी राष्ट्रपतिको घोषणा आएको हो। आफ्नो अपीलमा संयुक्त राष्ट्रका महासचिव आन्तोनियो गुतेरेसले दोनबास क्षेत्रमा धेरै मानिस पहिले नै मरेका बताउँदै पुटिनलाई रूसी सेनालाई युक्रेनमा आक्रमण गर्नबाट रोक्न र ‘शान्तिको अवसर दिन’ आग्रह गरे।

यसैबीच किभमा युक्रेनका विदेशमन्त्री दाय मत्रो कुलेबाले पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेको बताएका छन्।

‘पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेका छन्’, घोषणालगत्तै ट्विटरमा उनले भने। शान्तिपूर्ण युक्रेनी शहरमा आक्रमण भइरहेको छ। यो आक्रामक युद्ध हो। युक्रेनले आफ्नो रक्षा गर्नेछ र जित्नेछ। विश्वले पुटिनलाई रोक्न सक्छ र रोक्नुपर्छ। अब कारबाही गर्ने बेला आएको छ।’

कसैले निहुँ खोजे अपूर्व जवाफ दिन्छ : भ्लादिमिर पुटिन

रूसी राष्ट्रपति पुटिनले युक्रेनमा विशेष सेना परिचालन गर्ने घोषणा गरेका छन्। योसँगै रूसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको छ। युक्रेनको राजधानी किभमा विस्फोटको आवाज आइरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धले भयानक विनाश निम्त्याउने बताएका छन्। योसँगै पुटिनले कुनै पनि देश युक्रेन–रूस युद्धमा छिर्ने प्रयास गरे त्यसको परिणाम भयावह हुने चेतावनी दिएका छन्।

पुटिनले रूस आफ्नो सुरक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारेका छन्। आणविक हतियारले सुसज्जित रूस र नेटो अहिले आमनेसामने भएका छन्। यसैबीच राष्ट्रपति पुटिनले विशेष अपरेशनको निर्णयबारे देशवासीलाई जानकारी गराए। उनले टेलिभिजनमार्फत सन्देश जारी गरेका छन्।

पुटिनको सन्देश

युक्रेनमा बस्ने मानिसहरूलाई उनीहरू कहाँ बस्न चाहन्छन् भनेर कहिल्यै सोधिएन र यो प्रश्न सोध्ने अधिकार हामीसँग छ। हामीले क्रिमियाका जनताको सुरक्षा गर्‍यौँ र अब युक्रेनका जनताको पनि सुरक्षा गर्नेछौं। हामी आत्मरक्षा गरिरहेका छौं।

हामीविरुद्धमा खतराको मोर्चा खोलिएको छ। हामी छिट्टै यो दुःखद घडी पार गर्नेछौं। यो अवधिमा हामी कुनै पनि बाह्य हस्तक्षेप सहने छैनौं। म युक्रेनी सेनालाई भन्न चाहन्छु- तपाईंका बुबा र हजुरबुवाले हाम्रो साझा लडाइँ जारी राख्नुभयो। तपाईंहरू आफ्नो हतियार राख्नुहोस् र घर जानुहोस्।

युक्रेनका ती सबै सैनिकहरूलाई सुरक्षित घरमा लगिनेछ। त्यसो नगरे गम्भीर परिणाम भोग्नुपर्नेछ। युक्रेन यसको लागि जिम्मेवार छ। जे भइरहेको छ, त्यसमा कुनै देश प्रवेश गर्‍यो भने बुझ्नुहोस्, त्यसको जवाफ तत्काल दिनेछौँ। मलाई आशा छ‚ मेरो आवाज सुनिनेछ।

प्रिय रूसीहरू, यो एकजुट हुने समय हो। सेना अगाडि बढ्छ। अमेरिका झूटको साम्राज्य हो। ऊसँग सेना छ तर दिमाग छैन। हामीसँग दिमाग छ। हामी तयार छौं र हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न लड्नेछौं। रूसी सेनाले व्यावसायिक रूपमा आफ्नो काम पूरा गर्नेछ भन्नेमा म सकारात्मक छु। सामाजिक सुरक्ष र आर्थिक क्षेत्रको ख्याल राखेका छौं। रूसको भाग्य सुरक्षित हातमा छ। जे निर्णय गरे पनि लक्ष्य पूरा हुन्छ।

मलाई आशा छ‚ तपाईंले मेरो निर्णयलाई समर्थन गर्नुहुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *