रिबन

मुख्य समाचार : एमसीसीले नजिकिदै कांग्रेस र एमाले, स्थानीय तहको चुनाव हुने बाटो खुला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ अध्यक्ष ओली वालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न आग्रह गरेका छन् । तर अध्यक्ष ओलीले भने सभामुख हटाएर संसदको अवरोध खोल्न माग गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्ता भएको हो । संसदमा एमसीसी टेबल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्ड भेट्न वैद्य खुमलटार पुगेका हुन् । छलफलमा क्रममा वैद्याले एमसीसीको विपक्षमा मतदान गर्न आग्रह गरेका हुन् । सरकारमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

गृह मन्त्रालयले विगत केही दिनयता हिंसाजन्य गतिविधि भइरहेकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ । हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न मन्त्रालयले निर्देशन दिएको हो । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । यस्ता घटनाको छानबिन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । महोत्तरीस्थित भँगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

आइसीसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ६८ रनले पराजित भएसँगै दोस्रो पटक टी–२० विश्वकप पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । मंगलबार मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८। ओभर ४ बलमा १०७ रनमै सीमित बन्यो ।

रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने निर्णय गरेपछि पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाउन शुरु गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिने निर्णय गरेका थिए । उनले दुई क्षेत्रका विद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *