
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न सहयोगका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फेरी आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्ताका क्रममा देउवाले एमसीसी पारित गर्न सहयोग गरेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गरेको एमालेले जनाएको छ ।
छलफलका क्रममा माधवकुमार नेपालसहितका सांसदहरुलाई एमालेले गरेको कारबाहीको सूचना प्रकाशन नगरेसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा अध्यक्ष ओलीले राखेको एमालेले जनाएको छ ।
आजको बैठकमा कुनै सहमति नभएपनि एमसीसीका बारेमा भने छलफल भएको छ । छलफलमा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेता बिष्णु पौडेल सहभागी थिए ।
प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की समेत छलफलमा सहभागी थिए ।