समाचार

नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय,रमेश हमाल बने धितोपत्र बोर्डको अध्यक्ष

काठमाडौं।सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

त्यस्तै सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो ।त्यस्तै  सरकारले गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा १० दिनअघि बसेको बढुवा सिफारिस समितिले बैठकले सचिव बढुवाका पहिलो नम्बरमा निरौला, दोस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह र तेस्रो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको नाम सिफारिस गरेको सिफारिस गरेको थियो ।

त्यस्तै सरकारले नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईलाई बर्खास्त गरेको छ ।भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अदालतले ठगी मुद्दामा कैद र जरिवाना ठहर गरेको व्यक्तिलाई नराख्न वनमन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले भट्टराईलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै सरकारले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिरिषद् बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भूमिसुधारमन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *