काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी बन्न चाहने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान अगाडि सारेको छ ।
आयोगले तयार गरेको आचारसंहिताको मस्यौदामा स्थानीय तहबाट पारिश्रमिक र सुविधा लिइरहेको व्यक्तिले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार बन्न सकिने व्यवस्था छ ।
निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा दलहरुलाई सुझावका लागि पठाएको थियो । दलहरुको सुझावको आधारमा मंगलबारसम्म अन्तिमरुप दिने तयारीमा आयोग रहेको छ ।
स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामै यो प्रावधान राख्न लागिएको आयोगले जनाएको छ ।
उम्मेदवार बन्न चाहने पदाधिकारीले राजीनामा दिएपछि दुई साता रिक्त हुन सक्ने आयोगले जनाएको छ । आयोगले स्थानीय, प्रदेश र प्रतिनिधिसभालाई समेत एउटै हुने गरी आचारसंहिताको मस्यौदा बनाएको छ । आयोगले घोषणा गरेपछि निर्वाचन आचारसंहिता लागू हुन्छ ।
सरकार, सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय, स्थानीय कार्यपालिका, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, अर्धसरकारी कार्यालयका कर्मचारी, राजनीतिक दल, सार्वजनिक पद धारण गरेको व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।




