काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् बैठक सार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
शनिबार प्रधानमन्त्री देउवालाई भेटना बालुवाटार पुगेका प्रचण्ड र नेपालले फागुन २ गतेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका हुन् । उनीहरुले संसद् बैठक फागुन ४ गतेका लागि बोलाउन भनेका छन् ।
२ गतेको बैठकमा उपस्थित हुन नसक्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बैठक सार्न माग गरेकाले प्रतिनिधिसभा बैठक ४ गते तय गर्न प्रधानमन्त्री देउवासँग उनीहरुले आग्रह गरेका प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
यसअघि माघ २६ गतेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस गरेर फागुन २ गतेसम्मका लागि स्थगित गरेका थिए ।
एमालेले फागुन १ र २ गते पार्टीको प्रदेशस्तरीय भेला भएकाले संसद् बैठक सार्न आग्रह गरेको थियो ।




