सम्पादकीय

नौटंकी वन्द गर !

नेपालको ७० वर्षको प्रजातान्त्रिक अभ्यास उग्र कम्युनिष्टलाई प्रजातान्त्रिक बनाउदै बितेको छ । एउटा उग्र कम्युनिष्ट प्रजातान्त्रिक धारमा आउछ अनि लगत्तै अर्कोले बन्दुक समाउछ । नेपालमा समाजवादले पनि पुगेन भनेर वैज्ञानिक समाजवाद चाहिन्छ भनेर पार्टीको नाम नै वैज्ञानिक समाजवादी राखेर दल खुलेको छ । यस्तो मानसिकता भएका कम्युनिष्टको उहि पुरानो चश्मा छ–जसले भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादी देख्छ र देखिरहेको छ ।


कम्युनिष्ट सिद्धान्तबाट दिक्षित र प्रशिक्षित हरेकलाई थाह छ कि उनीहरुलाई छद्म युद्ध गर्न एउटा शत्रु चाहिन्छ । शत्रु नभए उसको छायासँग भएपनि शत्रु साधने चलन छ । आफूलाई देशभक्त र अरुलाई महान देश बेचुवा,देशद्रोही देख्ने उनीहरुको चश्मा अझै बदलिएको छैन ।
भारतले नेपालमा नाकावन्दी गर्‍याे । ६ महिना निकै कठोर थियो । यसको सामना सारा देशवासीले गरे । तर,चीनले अझै पनि नेपालमा नाकावन्दी गरिरहेको छ र यसको सामना अझै हामी गरिरहेका छौ । तर चुइक्क कोही बाेल्दैन । तातोपानी नाका बन्द छ र रसुवा नाका नाम मात्रको खुल्ला छ । दिनमा दश वटा मालवाहक सवारी मात्र त्यहाबाट आउन दिइन्छ । सारा ब्यापारीको करोडौं डुवेको छ । तर,केपी ओली कै पालामा अब नेपाल ल्यान्ड लक्ड होइन,ल्यान्ड लिंक्ड भयो भनेर खुशीयाली मनाइएको थियो । यसैले त भुपीले भनेका थिए–हामी वीर छौं तर वुद्धु छौं ।


अहिले एमसीसीको कारण पुरै मुलुक विभाजित छ । एमसीसीमा सम्झौता भएको चार बर्ष पछि यसलाई पास गर्ने कि नगर्ने भनेर विवाद छ । यो देशमा मिलिजुली सरकार छ र यसको एमसीसीमा समान धारणा छैन । सरकार मै रहेको माओावादी केन्द र एकिकृत समाजवादीले यसलाई जस्ताको तस्तै पास गर्न सकिन्न भनेको छ । तर,यसलाई पास गर्न हामी भूमिका खेल्छौं भनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफनो लेखोट र प्रतिवद्धतालाई लत्याएर अर्कै खेलमा लागिसके । नेपाली कांग्रेस एमसीसीको पक्षमा लाग्यो भनेर कांग्रेसमा विभाजन ल्याउन उनले डा.शेखर कोइरालालाई भेटेका छन । उनले सभापति शेरवहादुर देउवासँग विमति राख्ने कोइरालाई अबको राष्ट्रपति भनेर आश्वासन दिएका छन । र,सभापति देउवालाई भने चुनाव पछि पास गरौं भनेर नरम कुरा गरेका छन । तर,६ महिना अघि किन एमसीसीलाई पत्र लेखेको भनेर खुलाएका छैनन । यो दोहरो चरित्रमा बाचेका छन प्रचण्ड ।


सत्ता गठवन्धनकै अर्को घटक हुन–माधव नेपाल । एमालेसँग सम्वन्ध तोडेर एकिकृत समाजवादी बनाएका उनले एमसीसी पास गर्न नसकिने बताएका छन । उनको लागि यो राष्ट्रवादी बन्ने नयाँ मसला बनेको छ । र,उनले एमसीसी अनुमोदन हुन नदिन फागुन १ गते पार्टीका सबै भ्रातृसंगठनलाई उत्रिन निर्देशन दिएका छन । अर्थात सरकारमा पनि बस्ने र सडक पनि कब्जा गर्ने कम्युनिष्टको जुन दोहरो चरित्र हो उनले एक पटक फेरि देखाएका छन । उहिले एमाले महासचिव हुँदा अरुण तेस्रोमा यस्तै दोधारे भूमिका खेलेर परियोजना फिर्ता पठाएका थिए,अहिले एमसीसीमा उहि रोल खेल्न थालेका छन । तर,संसदीय लोकतन्त्रमा यदि कुनै दलले खास एजेण्डामा विमति राखेर सडक रोज्छ तब सत्ता छाडनुपर्छ । यो सामान्य नैतिकता हो । तर,न माओवादीले यो काम गरेको छ न माधव नेपालले ।दोहरो चरित्रमा यी दुई दल मात्र बाचेका छैनन,स्वयम एमाले पनि बाचेको छ । उ पनि एमसीसीमा के गर्ने भनेर निर्णय गर्न सक्ने अवस्थामा छैन । एमाले भित्रकै भीम रावहरुको स्वर सानो छैन,कडा छ । यसले एक पटक केपी ओलीलाई पनि पिरोल्नेछ । र,एमालेको दोग्लापन झन रमाइलो खालको किन छ भने जसले सभामुखलाई चिनेको छैन र उनको राजीनामा मागेको छ,उसैलाई संसदको वैठक स्थगीत गरौं भनेर माग राखेको छ । यसो गर्दा त एमालेले सभामुखलाई मान्यता दिएको भएन र ?


अब कांग्रेसले के गर्ने भन्ने सवाल खडा भएको छ । धेरै नेतालाई लागेको छ कि एमसिसिको पक्षमा बाेल्यो भने राजनीतिक भविष्य जोखिममा पर्छ भनेर । यो यति अनपपुलर मुद्धा हो कि यसको पक्षमा वोल्दा चुनाव जितिन्न,जनताले थु थु गर्छन भन्नेछ । यसैले कांग्रेसका मुर्धन्य,वोलक्कड,वोलेर राजनीति जोगाएका युवा,वुढा सबै खालका नेता चुप छन,मौन छन ।


के तपाइले गगन थापाले वोलेको सुन्नु भएको छ ? के तपाइले विश्वप्रकाश शर्माले वोलेको सुन्नु भएको छ ? वा चन्द भण्डारीले ? छैन। तर किन ? किन वोल्दैनन यी वोलक्कड युवा नेता ? किनभने जनमत विग्रन्छ,अप्ठयारो पर्छ भनेर लुकी लुकी हिडेका छन । अर्थात,पपुलर मत जता छ,उतै ढल्कने अहिलेको चर्चित युवाहरुको चलन छ,जुन घातक छ । राजनीतिमा जसले रिस्क लिन सक्दैन,त्यो नेता हुदै हुदैन ।
यसैले यो नौटंकी बन्द गर । एमसीसी केवल सहयोग मात्र होइन,यो कुटनीति पनि हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *