काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको निर्वाचन समितिको बैठकले जिल्ला कार्यसमितिको निर्वाचन हुन वाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो ।
निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेश सभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन वाँकी रहेका पद र तहको निर्वाचन फाल्गुण १० गते भित्र सम्पन्न गर्नका लागि सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन निर्णय गरेको छ ।
महोत्तरी जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन पनि फाल्गुण १० गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको अधिवेशन हुँन बाँकी छ ।
मुलुकमा कोभिड–१९ को भयावह अवस्थाका कारण स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी कांग्रेसले माघ १५ गते हुने भनिएका १६ जिल्लाको अधिवेशन यस अघि स्थगित गरेको थियो ।





