कला/साहित्य

शब्दचेतना

देवनागरी घच्घच्याउँछ
देहनाश होस बाँच्न लाउँछ ।
देशद्रोहले ढल्नु हुन्छ र ?
देवतीर्थ यै मर्नु हुन्छ र ? ।१।

खोल बाँसुरी प्रेम भावना
स्निग्ध शब्द हुन् पूर्ण कामना !
आसुरी नहुन् ज्ञान कुञ्जिका
द्वेष दुष्ट ती खोल अक्षिका ।२।

देवयोनिमै जन्म साँच रे !
काव्य सिर्जना शब्द बाँच रे !
शब्द खल भै कुँद्छ अक्षर
ज्ञानपुञ्ज हो क्षीर सागर ।३।

घच्घच्याउने भित्र लुक्छ क्वै
ढुकढुयाउने झकझक्याउँदै
बोल्न लाउने सोच्न लाउने
लेख्न लाउदै बर्बराउने ।४।

खेल्छ शब्दमै रम्छ अक्षरी
मर्म भावना गम्छ बेसरी
खोल्छ ज्ञानको मेघ मञ्जरी
दिव्य साधना गेय माधुरी ।५।

ध्यान धैर्यता लिन्छ लाखले
शूरवीरता भर्छ पाठले
ज्ञानचक्षु हौ योग्य मानव
काव्य सिर्जना पोख सुस्मित ।६।

फाल्छ दुष्टता दिन्छ शिष्टता
शस्य श्यामला ऊ विशिष्टता
शीर्ष वक्षका फाल वेदना
जोड लेखनी शब्द चेतना ।७।

०……………०……………..०

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *